डोटी- नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन आगामी चैत महिनाको २ र ३ गते हुँदैछ ।
अधिवेशनको मिति नजिकिँदै जादा एमालेभित्र अधिवेशनको सरगर्मी बढेको छ ।
माघ २५ गते मात्रै एमाले जिल्ला कमिटीको पूर्ण बैठक बसेर अधिवेशन सफल पार्न विभिन्न जिम्मेवारी सहित कार्य विभाजन पनि गरिसकेको छ ।
एमाले डोटी अध्यक्ष चक्र मल्ल नेतृत्वमा अधिवेशन मूल आयोजक कमिटी गठन गरिएको छ भने प्रचारप्रसार, आर्थिक, यातायात, मञ्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, साँस्कृतिक, अतिथि सत्कार, स्वयंसेवक परिचालन लगाएतका विभिन्न उप समिति बनाएर जिम्मेवारी बाँडफाँड सहित तयारी अघि बढाइएको छ ।
अधिवेशन आयोजना स्थलका रूपमा राजपुरलाई तोकिएको एमालेले जनाएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएका कारण अध्यक्ष को बन्ने भन्नेमा पार्टीभित्र र आम चासोको विषय बनेको छ ।
अध्यक्ष पदका लागि अहिलेसम्म चर्चामा आएका नामहरुमा मन्जु मलासी, नारद मलासी, शेर बहादुर मल्ल, पदमराज भट्ट र लक्ष्मण मलासी रहेका छन् ।
मन्जु मलासी एमाले डोटी जिल्ला कमिटी उपाध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख हुन् ।
आफू पार्टीको उपाध्यक्ष भएर काम गरिसकेको हुँदा अबको अध्यक्षमा आफ्नो आकाङ्क्षा स्वभाविक रहेको मलासीको दावी छ । जनप्रतिनिधि भएर पनि काम गरिसकेको र एउटा महिला नेतृका रूपमा पनि आफू अध्यक्षको दावी सहित लविङ्ग शुरु गरेकी छन् ।
त्यसैगरी नारद मलासी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान सदस्य तथा डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष हुन् ।
उमेरका हिसाबले पनि पाको, वर्तमानमा अन्य कुनै पदीय जिम्मेवारी पनि नभएकोले अहिलेलाई जिल्ला अध्यक्ष पद नै आफ्नो लागि उपयुक्त भएको उनको दावी छ ।
त्यस्तै अर्का आकाङ्क्षी शेर बहादुर मल्ल एमाले डोटीका सचिव हुन् । सबैतिर युवा नेतृत्वको माग बढेको र सचिव पदमा रहेर काम गरिसकेको हुँदा अब अध्यक्षको नेतृत्वमा आफ्नो दावी अघि सारेको मल्लले बताएका छन् । पार्टीलाई व्यवस्थित गर्न खेलेको भूमिकाको मुल्यांकन गर्नुपर्ने र पूर्ण नेतृत्व पाए अझै व्यवस्थित बनाउन सकिने उनको दावी छ ।
सम्हालेका थिए । वि.सं. २०७८ साल पुस २३ देखि २६ मा सम्पन्न एमाले डोटीको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवालय सदस्य बनेका हुन् । जिल्लामा घर परिवार, व्यापार, व्यवसाय कुनै जिम्मेवारी हेर्नु नपर्ने र पूर्णकालिन पार्टीको राजनीतिमा समय दिने भन्दै अध्यक्ष पदमा उनको दावी छ ।
अधिवेशनको मिति आउन अझै एक महिना बढी समय भएकोले अध्यक्ष पदका सबै आकाङ्क्षीहरु सङ्गै बसेर छलफल हुन भने बाँकी रहेको एमाले श्रोतले जनाएको छ ।
अध्यक्ष पदका आकाङ्क्षीहरुको राजनीतिक भूगोल हेर्दा मन्जु मलासी, नारद मलासी र लक्ष्मण मलासी प्रदेश निर्वाचन क्षेत्र ‘क’ का हुन् भने पदमराज भट्ट र शेर बहादुर मल्ल प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का हुन् ।
एमाले विधान अनुसार जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचीव र दुईवटा उप-सचिव पद छन् । मुख्य पद अध्यक्षको टुंगोमा पुग्दा अन्य पदलाई प्रभावित गर्ने हुँदा पदाधिकारी अन्तरगत अन्य पदका आकाङ्क्षी बारे कम चर्चाको विषय छ । यद्यपि पदाधिकारी अन्तरगत पनि आकाङ्क्षीहरुले कसरत बढाउन थालेका छन् ।
नेकपा विभाजन पछिको फुटले एमालेलाई २०७९ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परेको असरलाई विश्लेषण गर्दै र आगामी २०८४ को निर्वाचनलाई समेत मध्य नजर गर्दै सहमति र एकताको अधिवेशन बनाउनुपर्नेमा एमाले केन्द्र, प्रदेश र जिल्ला नेतृत्व जुटेको छ ।
पार्टी एकढिक्का भएर अघि बढ्न एमाले मूल नेतृत्वले निर्देशन गरिरहेको र अधिवेशनमा सकभर सहमतिमा नेतृत्व चयन गर्ने गरि नेताहरू जुटेका छन् ।