काठमाडौं- सत्ता गठबन्धन भित्र सातै प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेता र सातै प्रदेशका मुख्यमन्त्रीबीचको बैठकमा प्रदेश नेतृत्वको समय अवधि र आलोपालोबारे छलफल भएको हो ।
बैठकले गठबन्धनका शीर्ष नेताहरुलाई नै सबै प्रदेश सरकारका मुख्यमन्त्रीहरुको समय अवधि तोक्ने जिम्मा दिएको छ । कुनै पनि दलको बहुमत नभएको भन्दै सबै प्रदेश सरकारमा दलको सिट संख्याअनुसार अधिकतम र न्यूनतम समय निर्धारण गर्ने सहमति भएको हो ।
मधेश प्रदेशमा सुरुमा जनमत र त्यसपछि कांग्रेसले सरकार चलाउने सहमति भएको थियो । तर, कति समय भन्ने एकिन छैन । अरु प्रदेशमा पनि मुख्यमन्त्री आलोपालो गर्न गठबन्धन सहमत छन् ।