सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

Navadurga sun
Godawari sandesh

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

Dadeldhura hospital

१३ गतेको फैसलामा के छ ?

पीडित गौशाला २६ (परिवर्तित नाम) लाई क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको अदालतको ठहर गरेको छ । ‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ,’ अदालतको फैसलामा भनिएको छ । तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो भने असोज २० मा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख थियो । सोही जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

यस्तै भदौ २३ मा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।

जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन् ।

Loading...