कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा यस वर्ष पनि ’माघ म्याला २०८०’ हुने भएको छ । थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा पुस २६ देखि २८ गतेसम्म तीन दिवसीय ’माघ म्याला’ सञ्चालन गरिने छ ।






बेलौरीको थारु छात्रावासमा बिहीबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारिणी सभा बेलौरीले उक्त मेला सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । बेलौरीको खुला मञ्चमा हुने कार्यक्रमको पहिलो दिन पुस २६ गतेका दिन रक्तदान कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा.लि. र प्रवर्द्धक बेलौरी नगरपालिका कार्यालय रहेको छ ।





थारु समुदायको कला, लोक संस्कृति र भाषा साहित्यको जगेर्ना एवं प्रवर्द्धन र संरक्षणमा सहयोग पुर्याउने, थारु समुदायमा रहेका कुरुती हटाइ एकजुट भएर शिक्षित समाज निर्माणमा सहयोग पुर्याउने, थारु झाँकी, कला संस्कृतिहरूको समेत प्रदर्शन लगायतको उद्देश्यका साथ मेला अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति माघी, झुम्रा, मुग्रुह्वा, हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति, थारु समुदायको रहनसहन संस्कृति र भेषभुषा प्रदर्शन, थारु लेखन प्रस्तुति, थारु परिकार रहने बताइएको छ । ५० हजार दर्शकहरूको कार्यक्रममा सहभागी रहने अनुमान गरिएको थारु कल्याणकारिणी सभा बेलौरीका अध्यक्ष खडक चौधरीले जानकारी दिनुभयो । मेला अवलोकनका लागि कुनै टिकट बापतको शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।




