कञ्चनपुरका झण्डै ६ हजार उखु किसानले अनुदान पाउँदै

कञ्चनपुर- कञ्चनपुरका झण्डै ६ हजार उखु किसानले अनुदान पाउने भएका छन् । उखु उत्पादन गरेवाफत जिल्लाका किसानले अनुदान पाउने भएका हुन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार उखु उत्पादन गरेवाफत जिल्ला भित्रका करिब ६ हजार किसान ३२ करोड ६६ लाख रुपैयाँ अनुदान पाउन योग्य देखिएका छन् । कोष नियन्त्रक सबिना वनले ५ हजार ७ सय ६३ उखु किसानलाई अनुदान रकम वितरण गरिने बताइन् । गत आर्थिक वर्ष २०७९/०८० मा उखु बिक्री गरे बापत जिल्लाका किसानले उक्त अनुदान रकम पाउने भएका हुन् ।

Bhancha ghar0

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा रहेको भुक्तानी सिफारिस समितिले गरेको सिफारिसका आधारमा विभिन्न ६ बैंक मार्फत किसानले अनुदान रकम पाउने भएका छन् । केन्द्रबाट उखु किसानका लागि अनुदान रकम वितरण गर्न अख्तियार आइसकेको कार्यालयले जनाएको छ । दुवै उद्योगबाट प्राप्त विवरण र सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम वितरण गर्ने तयारी छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले आर्थिक वर्ष २०७८/०७९ मा उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ तोकेको थियो । मन्त्रिपरिषद् बैठकले उखु किसानको अनुदानको रकम भुक्तानी दिने निणर्य यसअघि नै गरिसकेको छ । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

अब किसानले ७० रुपैयाँ अनुदान सहित ६ सय ३५ रुपैयाँ पाउने भएका छन् । बेलौरी नगरपालिका १०, शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालि र पुनर्वास नगरपालिका-२, दशरथ बस्तीमा रहेको भागेश्वर केमिकल प्रालिमा गत वर्ष जिल्लाका उखु किसानले बिक्री गरेको उखु बापत यस वर्ष अनुदान रकम पाउन लागेका छन् ।

Loading...