नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोग बापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका-११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका-२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यस बापत शुल्क तिर्ने गरेको बताइन् । “वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीणर् बन्दै गएको छ”, उनले भनिन्, “बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ ।”

वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युब मार्फत जोखिमपूणर् यात्रा गर्न बाध्य छन् । “पक्की पुल निर्माण गर्ने भनेको वर्षौँ भइसक्यो । काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैन”, लालझाडी-५ का धोके रानाले भने, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गल बहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन् । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीणर् बन्दै गएको स्थानीय कृष्ण रानाले बताए । “पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिले सम्म काठे पुल प्रयोग गर्ने ?”, उनले भने ।

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्र अन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्क बिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । “वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ”, उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।” रासस

Loading...