एमाले नेता भीम रावल गाउँ गाउँमा पुगेर आमसभा र कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदै

अछाम- नेकपा एमालेका नेता डा. भीम रावल गृहजिल्ला अछाममा पार्टीको कार्यक्रममा सक्रिय भएका छन् । एमालेको महाकाली-मेची पदयात्रामा सहभागी नभएका रावल अभियानलाई छिचोल्दै अछामका गाउँबस्ती पसेका छन् ।

एमालेमा सक्रिय रहेको सन्देश दिने उद्देश्यले उनले अछामका गाउँ गाउँमा पुगेर आमसभा र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका हुन । मंसिर १४ गते बैतडीको झुलाघाटदेखि एमालेले मध्यपहाडी लोकमार्ग पदयात्रा अभियान सुरु गरेको थियो । आफ्नै गृहप्रदेशबाट एमालेले अभियान सुरु गर्दा पनि रावल निमन्त्रणा नगरिएको भन्दै सहभागी भएनन् ।

मंसिर १६ गते पदयात्राको नेतृत्व गरेर अध्यक्ष केपी शर्मा ओलीको टोली रावलकै गृहजिल्ला अछाम पुगेको थियो । त्यसबेला पनि रावल अभियान नदेखिएर संघीय राजधानी काठमाडौँमै थिए । अछामबाट पदायात्रा कणर्ाली प्रदेशतर्फ लागेपछि मंसिर १८ गते रावल गृहजिल्ला अछाम पुगेका थिए । एमालेमा निष्क्रिय रहेको आरोप खेपिरहेका उनै रावल अहिले एमालेकै ब्यानर र झण्डामुनि सक्रिय देखिएका छन् ।

एमालेको कार्यक्रममा प्रायः कमै देखिने रावलले अछाममा आमसभा र कार्यकर्ता भेटघाटलाई बाक्लो बनाउँदै पार्टीमा सक्रिय रहेको सन्देश दिन खोजिरहेका छन् । रावल आफैँले अछाममा पार्टीको गतिविधिमा सहभागी भएका तस्बिर साझा गरेका छन् । ठाउँ-ठाउँमा कार्यकर्ताले उनको विशेष स्वागत गरिरहेका छन् ।

रावल गृहजिल्लामा कार्यकर्ता भेटघाटका साथै विभिन्न ठाउँमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगिरहेका छन् । ‘गाउँ गाउँमा आयोजित आमसभा सम्बोधन तथा कार्यकर्ता भेटघाट गरिरहनुभएको छ । ठाउँ ठाउँबाट कार्यकर्ता बोलाइरहेका छन्,’ रावलनिकट अछामका एक नेता भन्छन्, ‘पार्टीमा सक्रिय नरहेको भाष्य निर्माण गर्न खोजिँदैछ । त्यसलाई चिर्न पनि पार्टीका गतिविधि केन्द्रित हुनुभएको हो ।’

जिल्ला अधिवेशन पनि नजिकिँदै गएकाले नेताहरुको आग्रहमा रावल अछामकेन्द्रित बनेको उनी निकट नेताहरुको भनाइ छ । रावल पुसभर अछाममै रहने छन् । एमाले अछामको अधिवेशन फागुनमा हुँदैछ । रावल आइतबार साँफेबगर-१० मा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, पुस ११ गते चौरपाटी गाउँपालिका कमिटीले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आमसभाका अलावा रावल पार्टी कार्यालय उद्घाटन, विकास निर्माणको अवलोकन लगायतमा व्यस्त छन् । अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावल एमालेमा चेपुवामा परेका छन् । उनी अहिले एमालेमा जिम्मेवारीविहीन छन् । विगतमा सुदूरपश्चिममा एमालेभित्र बलियो पकड रहेको मानिएका रावलको अहिले शक्ति खिँइदै गएको विश्लेषण भइरहेको छ ।

Loading...