राप्रपाको आन्दोलन र अभियान रोक्ने सरकारको कदम सफल नहुने : अध्यक्ष लिङ्देन

महेन्द्रनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा

कञ्चनपुर- राप्रपाले बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

उनीहरूले राजतन्त्र सहितको हिन्दु राज्य पुनःस्थापनाको वकालत गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रशासनको प्रयोग गरेर राप्रपाको आन्दोलन र अभियान रोक्ने सरकारको कदम सफल नहुने बताए । उनले महेन्द्रनगरमा राजा महेन्द्रको सालिक स्थापना गरेरै छोड्ने दाबी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सबै मिलेर प्रदेश खारेज, गणतन्त्र खारेज तथा राजसंस्था कायम गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनु पर्ने धारणा राखेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि मंसिर ८ गतेका दिन राप्रपा कञ्चनपुरको आह्वानमा आयोजना गरिएको प्रदर्शनका क्रममा सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड गरिएको थियो । त्यस बेला देखि गणतन्त्र समर्थक र गणतन्त्र विरोधीहरू बिचको मतभेद सतहमा देखिएको छ । गत साता मात्रै कञ्चनपुरका आठ गणतन्त्र समर्थक राजनीतिक दलहरूले सालिक राख्न नहुने आशयको संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

महेन्द्रनगरका केही स्थानमा निषेधित क्षेत्र घोषणा
यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रको सालिक राख्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । राप्रपाले बिहीबार महेन्द्रनगरमा आमसभा आयोजना गरी महेन्द्रको सालिक स्थापना गर्ने तयारी गरेको थियो ।

भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरू बिच मत भिन्नता भएको र सोही सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरेको कञ्चनपुर प्रशासनले जनाएको छ ।

बिहीबार देखि ७ दिन सम्मका लागि ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । प्रशासनका अनुसार, संविधान चोक र सो चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र तथा संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।

Loading...