सडकले भासिन थाल्यो गाउँ, बाजुरा क्युडीका ९४ परिवार विस्थापित

बाजुरा, १४ असार- असार सुरु भएसँगैको अविरल वर्षाले बाजुराको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ वस्ती जोखिममा छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ वस्ती उच्च जोखिममा परेका छन्।

जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका वडा नं. ५, क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताए। सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।

Navadurga sun

सडकमाथि गाउँ भएकाले पूरै जमिन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीको भनाइ छ। पहिरोले विस्थापित भएका उनीहरू एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन्। विस्थापित भएको खबर आए पनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा वस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।

वस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताए। प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी वस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएको गाउँपालिकाले जनाएको छ।

पहिरोले क्युडीका घरहरू चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...