सुदूरपश्चिम प्रदेश : ह्वात्तै घट्यो कोरोना मृत्युदर, असारमा १० जनाको मृत्यु





अत्तरिया, ९ असार– सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ । बैशाख र जेठको सुरुमा अत्याधिक रहेको मृत्युदर पछिल्लो समयममा ह्वात्तै नियन्त्रणमा आएको हो । दुई महिनादेखि सुदुरपश्चिमका ९ जिल्लाहरुमा निषेधाज्ञा गर्दै कोरोना संक्रमण घटाउने प्रयास हुदै आएको छ । असारपछि कोरोना संक्रमण दर मृत्यु हुने संख्या कम भएको हो । असारको ८ दिनमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।



योसँगै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६९ पुगेको छ । जेठ ३१ गतेसम्म ५ सय ५९ जनाको मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ । असारको १, ४ र ८ गते कोरोनाबाट प्रदेशमा दुई दुई जनाले ज्यान गुमाएका छन् ।


असार २ गते मृत्यु संख्या शुन्य रहेको छ । असार ३, ५, ६ र ७ गते एक एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोनाको दोस्रो लहरमा कैलाली कञ्चनपुर हटस्पट बनेका थिए भने मृत्युदर पनि अत्याधिक रहेको थियो । सुदुरपश्चिममा एकै दिन सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।



