यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकमाथि कुटपिट, विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा

कञ्चनपुर- यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकमाथि कुटपिट भएको भन्दै विद्यालय बन्द गरेरै शिक्षक आन्दोलनमा उत्रिएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका– १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रप्रसाद जोशीमाथि कुटपिट भएको भन्दै शिक्षकका विभिन्न ट्रेड युनियन संघ–संगठनमा आबद्ध नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबार (आजदेखि) जिल्लाभरिका सम्पूर्ण विद्यालय बन्द गरेर आन्दोलित भएका हुन्।

प्रहरी घेरामा रहेका शिक्षकमाथि कुटपिट गर्नेहरूलाई कारबाहीको माग गर्दै सोमबार बिहानैदेखि शिक्षकले विरोध प्रदर्शन गर्दै प्रशासनमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिका संयोजक वीरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाए पनि कुटपिट गर्न दिएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।

Navadurga sun

संयोजक भण्डारीका अनुसार शिक्षक जोशीमाथि ३ भदौमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, घाइते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सीताराम विष्टसहितका प्रहरीमाथि कारबाहीको माग अघि सारेर आन्दोलनमा उत्रिएको बताए।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिका सहसंयोजक वेदप्रकाश उपाध्यायले शिक्षक जोशीमाथि प्रहरी घेराभित्रै मरणासन्न हुने गरी कुटपिट निन्दनीय भएको बताए।

नेपाल शिक्षक संघका नेता नवीनसिंह धामीले शिक्षकमाथि अपराधीभन्दा पनि निकृष्ट व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए। नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले समेत निहत्था शिक्षकमाथि प्रहरी घेरामै कुटपिट हुनु निन्दनीय भएको कतै कुटपिटमा संलग्न प्रहरी नै भएकाले छानबिन गर्नुपर्ने बताए।

३१ साउनमा शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाएका थिए। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। शिक्षक जोशीका परिवारले कुटपिट गर्नेविरुद्ध किटान जाहेरी दिएका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...