कैलालीको गोदावरी नगरपालिकाका ग्रामिण सडक हिलाम्मे हुँदा स्थानियलाई आवत-जावत गर्न समस्या





अत्तरिया, ५ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ को मगर टोलको ८ सय मिटर सडक पहिले नै ग्राबेल गरिएको थियो ।


चालु आर्थिक वर्षमा गोदावरी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत सो सडकको दुवैतिर नाली निमाणर् गर्यो । नालीको माटो सडकमा थुपारेपछि हाल मगर टोलको सडक हिलाम्मे भएको छ । हिलोले सडक हिलाम्मे हुँदा आवत-जावतमा समस्या भएको स्थानियहरु बताउँछन् ।



उक्त सडक हिलाम्मे हुँदा कोही पनि विरामी पर्दा त्यो बाटोबाट अटो रिक्सा समेत लग्ने अवस्था नभएको लगे पनि अटो फस्ने समस्या भएको एक स्थानियले बताएका छन् । नगरपालिकाले प्रत्येक वडामा वर्षातमा ५ लाखको ग्राबेल गर्न ठेक्का गरेको छ । तर उक्त वडा नं. ७ को मगर टोलको सडकमा एक ट्रली ग्राबेल समेत पुग्न सकेको छैन ।
स्थानीय खेमराज ओझाले भने, वडामा ग्राबेलका लागि १ करोड आएको भनिएको थियो । तर मगर टोलको सडक ग्राबेल गरिएन् । वर्षातमा फेरि ५ सय घनमिटर ग्राबेलका लागि ठेक्का भएको छ । तर यो सडकमा एक ट्रली पनि ग्राबेल नहालिएको स्थानिय खेमराज ओझाले बताएका छन् । ओझाका अनुसार मगर टोलको सडक हुँदै वडा नं. ७ का बेलपानी, पट्रेनी, फुलबस्ती लगायतका नागरिकलाई सास्ती रहेको बताए ।

गोदावरी नगरपालिकाले ५ सय घनमिटरको ग्राबेलमा समेत आर्थिक चलखेल गरेको उनीहरुको आरोप छ । नगरपालिकाको वडा नं. ७ मा ५ लाखको झण्डै ५ सय ११ घनमिटर ग्राबेलको योजना कार्यान्वयन भएपनि २० ट्रली मात्र हालिएको उनीहरुले बताएका छन् । ठेक्कामार्फत वडा नं. ७ मा २० ट्रली अर्थात ७० घनमिटर ग्राबेल गर्दै बाँकी ग्राबेलको रकम हिनामिना भएको स्थानीयको दाबी छ ।
वडा नं. ७ का वडा सदस्य ठक्करबहादुर मगरले नै नगरपालिकाका केही जनप्रतिनिधिले ५ लाखको बजेटमा “झ्वाम” पारिएको आरोप लगाए । उनले भने, “यो सडकमा पहिला पनि ग्राबेल गरिएन् । अहिले आएको रकमबाट २०/३० ट्रली पनि ग्राबेल हालिएन् । वडा नं. ७ बाटै धेरै रकम झ्वाम भएको छ,” उनले भने । ५ सय ११ घनमिटर ग्राबेलको योजना वडामा भएपनि वडा नं. ७ को मगर टोलको सडकमा हिलोले हिडडुल गर्न मुस्किल भएपनि एक ट्रली समेत ग्राबेल हालिएको छैन् ।
स्थानीयले वडा नं. ७ मा गरिएको ग्राबेल खोजदासमेत नभेटिएको तर्क गरेका हुन् । वडा नं. ७ का अध्यक्ष हेमराज ओझाले नगरपालिकाले समन्वय नगरेर ग्राबेलका लागि ठेक्का दिएको बताए । उनले भने, “नगरपालिकाले नै ठेक्का दिएको हो । हामीसँग समन्वय भएन् । ग्राबेल त गर्दै थियो । तर वडाका सवै सडकका खाल्डा पुरिएन् । ग्राबेल कम मात्र गरिएको भन्दै मैले फेरि हाल्न भनेको छु ।”
नगरपालिकाले ४ लाख ४० हजार रकम वडा नम्बर ७ बाट मात्र आर्थिक हिनामिना गर्न खोजेको उनीहरुको तर्क छ । प्रत्येक वडामा ५ लाखको ग्राबेल गर्न नगरपालिकाले ठेक्का दिएको भएपनि रकम भुक्तानी भने भएको छैन् । ग्राबेल कम भएको सडकहरुमा पुनः ग्राबेल गर्न लगाउने गोदावरी नगरपालिकाका प्रवक्ता शर्मा नन्द भट्टले बताए । उनले नगरपालिकाले वर्षातको समयमा परेका खाल्डा पुर्न ठेक्का गरिएको बताए ।
“एक वडामा ५ लाख बराबरको ग्राबेल गर्ने भनिएको हो । ठेक्काको रकमको बारेमा मलाई जानकारी छैन् । नपुगेको होला । वर्षामा खाल्डा-खुल्डी बढी छन् । ५ सय घनमिटर गएको होला । कुन-कुन सडकमा हालिएको हो, त्यो वडाध्यक्षलाई जानकारी होला,” उनले भने ।
नगरपालिकाको मापदण्ड अनुसार एक घनमिटर ग्राबेलको ८ सय ५० रुपैयाँ पर्छ । एक ट्रलीमा ३ दशमलव ५ घनमिटर ग्राबेल हुन्छ । एक वडाबाट ४ लाख ४० हजार आर्थिक हिनामिना भए १२ वडा रहेको नगरपालिकाबाट ५२ लाख ८६ हजार रकम हिनामिना हुन सक्ने आशंका गरिएको छ ।



