कञ्चनपुर- कैलालीका तीन जना लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मालुबेलाबाट अर्जुन चौधरी, बेलौरी नगरपालिका–६ बैशाखापुलबाट बिवेक सापकोटा र सन्तोष चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।
कैलालीको धनगढी उप महानगरपालिका–५ बस्ने २५ वर्षीय अर्जुन चौधरी ६० मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कैलालीको गौरीगङ्गा नगरपालिका–८ बस्ने २१ वर्षीय बिवेक सापकोटा र धनगढी उपमहानगरपालिका३ बस्ने २० वर्षीय सन्तोष चौधरी १ ग्राम ३५ मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी १ थान स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथी थप अनुसन्धान गरिरहेको छ ।
