सन्तोष पाण्डेय / बैतडी : बैतडीको पाटनमा निर्माणाधिन बसपार्क अलपत्र परेको छ । आर्थिक बर्ष २०७१/७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिले सम्म पूरा हुन सकेको छैन् ।
पाटन नयाँ शहर आयोजना अन्तर्गत बसपार्क निर्माण भइरहेको भएपनि निर्माण शुरु भएको ९ बर्ष बितिसक्दा समेत बसपार्क निर्माणको काम सम्पन्न हुन सकेको छैन् । १३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्क अन्तर्गत ९० प्रतिशत काम पूरा भइसकेको छ ।
पाटन नयाँ शहरमा व्यवस्थित बसपार्कको अवधारणा अन्तर्गत बसपार्क निर्माणको काम शुरु भएपनि विभिन्न कारणले अझै पनि बसपार्क निर्माण कार्य सम्पन्न हुन सकेको छैन । समयमै बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा बनेका संरचनाहरु समेत जीर्ण हुन थालेका छन् ।
पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भएपनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा सवारी साधन बजारमै पार्किङ गर्ने गरिएको छ । ८ ओटा बस र ४ ओटा जिप एकै पटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणमा ढिलाइ हुँदा दुर्घटनाको समेत जोखिम बढ्दै गएको र बजारमा जथाभावी पार्किङ ले गर्दा आवतजावत गर्ने मानिसहरुलाई समेत समस्या भएको छ ।
