३ वर्षयता बैतडीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो

बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। यहाँ गएको ३ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको पाइएको हो। ३ वर्षयता यहाँबाट २ सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Ganyapdhura gau

बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष ०७७/७८ देखि आर्थिक वर्ष ०७९/८० सम्म यहाँबाट २४३ महिला तथा बालबालिका हराएका छन्।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा ६० जना, आव ०७८/७९ मा ७८ जना र गत आव ०७९/८० मा १०५ जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमा सबैभन्दा बढी महिला रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हराएकामध्ये केही फेला परेका भए पनि आधाभन्दा बढी अझै सम्पर्कविहीन रहेको प्रवक्ता जोशीले बताए। गत आर्थिक वर्षमा १०५ जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन्।

गत वर्ष ७२ जना महिला, २१ जना बालिका, १० जना बालक र २ जना ज्येष्ठ नागरिक हराएका थिए। हराएकामध्ये ३३ जना महिला, १२ जना बालिका, ९ जना बालक र एकजना जेष्ठ नागरिक फेला परेका हुन्।

Dadeldhura hospital

आर्थिक वर्ष ०७८/७९ मा ४० जना महिला, २६ जना बालिका र १२ जना बालक हराएका थिए। तीमध्ये २३ जना महिला, १६ जना बालिका र ६ जना बालक मात्रै फेला परेका छन्।

दुई वर्षको अवधिमा हराएकामध्ये एक सय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए। यसका साथै आव ०७७र०७८ मा हराएका ६० जनामध्ये ३९ जना मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ।

आफन्तहरुले खोजीका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको संख्या एकिन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिए पनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी नदिने उनले बताए।

उनले भने, ‘हराएकाहरुको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरि खोजी भइरहेको छ। हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन्। हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका छन् तर भेटेको खबर प्रहरीमा गर्दैनन्।’

धेरैजसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरु फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ। घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिलाहरु हराउने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

श्रीमान वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना पनि हुने गरेका छन्। उनले भने, ‘मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन्। उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन्।’

भागी बिहे गरेको धेरै वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा समेत आउने गरेका छैनन्। सीमानाकामा पनि प्रहरीले शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने गरेको उनले बताए।

Loading...