महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन्।

Ganyapdhura gau

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण यो क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ। महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ”, नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ।’

Dadeldhura hospital

महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको उनले बताए। अहिले यो क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन्।

ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन्। ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ’, स्थानीय प्रेम सार्कीले भने, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन्।’ उनले कटान रोक्न स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताए।

स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताइन्। ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ’, उनले भनिन्, ‘यहाँ डुबान र कटान धेरै हुन्छ।

बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके।’ गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताइन्। ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन्। बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ। रासस

Loading...