कञ्चनपुर- कञ्चनपुरका लालझाडी गाउँपालिका–१ नौरंगाबाट भन्सार छली भित्र्याइएको अवैध मालसामानसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।




सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणमातहतको बीओपी दोदाबाट खटिएको टोलीले शुक्रबार राति १६ लाख रुपैयाँभन्दा बढीको मालसामान बरामद गरेको हो ।


पक्राउ पर्नेहरूमा गाडीचालक कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र बोहोरा र सहचालक लालझाडी–१ का १९ वर्षीय बिशाल बडायक रहेका छन् ।
उनीहरूले सामान ल्याउन प्रयोग गरेको पिकअप भ्यान पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ३५ नम्बर गणले जनाएको छ ।

