डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

उनका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ। उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताउनुभयो। गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

“बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उनले भने, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ।” पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ।

महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिए ।

Dadeldhura hospital

कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ। यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ।

वर्षायामसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेङ्गु पहिचानका लागि आवश्यक डेङ्गु किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ।

घरदैलो कार्यक्रम

महाशाखाले डेङ्गु रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ। कार्ययोजनामा डेङ्गु सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ।

यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गु सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गु भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गु रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत कार्ययोजनमा उल्लेख छ।

गत वर्ष ५५ हजारभन्दा बढीलाई सङ्क्रमण र ८८ जनाको सङ्क्रमणको कारणले निधन भएको थियो। डेङ्गुबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ। मृत्यु भएका व्यक्तिमा डेङ्गुसँगै निमोनिया, स्क्रवटाइफसलगायतका सङ्क्रमणसमेत पाइएको छ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। रासस

 

Loading...