दार्चुला- दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा सङ्घ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो ।



सङ्घीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकासे बजेटको ३ अर्ब ५७ करोड ९४ लाख ३० हजार छ सय ३४ रुपैयाँमध्ये ४२ करोड १४ लाख ३१ हजार ४६४ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए ।



जिल्लाको शैल्यशिखर नगरपालिकामा सङ्घीय सरकारबाट प्राप्त ४९ करोड ८३ लाख १ हजार तथा प्रदेश सरकारबाट प्राप्त २ करोड १० लाख ७२ हजारमध्ये ८ करोड १८ लाख १७ हजार ८५३ विकासे बजेट फिर्ता गएको छ ।
यस्तै महाकाली नगरपालिकामा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त कुल विकासे बजेट ५१ करोड ८२ लाख ३२ हजार ५७४ मध्ये ५ करोड ८८ लाख ८३ हजार १४५ रुपैयाँ फिर्ता गएको छ । नौगाड गाउँपालिकालाई प्राप्त ३७ करोड ४१ लख ४३ हजार ७६० मध्ये २ करोड ७८ लाख २ हजार ८९५ खर्च हुन नसकी फिर्ता गएको छ । यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त ३८ करोड ९७ लाख ३२ हजार ९ सयमध्ये ३ करोड ३७ लाख ४२ हजार ७७३ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए ।
जिल्लाको दुहुँ गाउँपालिकाका लागि प्राप्त ३० करोड ९७ लाख ७० हजार पाँच सयमध्ये ४ करोड ६८ लाख ९५ हजार ३६५ फिर्ता गएको छ भने अपी हिमाल गाउँपालिकाका लागि प्राप्त २६ करोड ३५ लाख ७३ हजार २ सयमध्ये ३ करोड २ लाख ६ हजार ४३० फिर्ता गएको छ । लेकम गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९४ लाख ४९ मध्ये ४ करोड ५८ लाख ९३ हजार ५२७ फिर्ता गएको छ ।
विकासे बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजनाहरू कार्यान्वयन नहुनुलगायत कारणहरू रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए । रासस

