कञ्चनपुरबाट खैरो हेराइनसहित दुई भारतीय युवा पक्राउ

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वासबाट प्रहरीले अवैध लागू औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सोमबार बेलुका पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा नाकाबाट ती दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डको टोलीले ३ सय ९० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर, खिरी अन्तर्गत बनगाउँका २० वर्षीय राज राना र सोही ठाउँका २१ वर्षीय आकाश रानालाई पक्राउ गरेको छ।

Navadurga sun

दुवै जनालाई शंका लागेर जाँच गर्दा दुवैको साथबाट खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेका राजको साथबाट शुद्ध तौल गर्दा २ सय १० मिलिग्राम र आकाशको साथबाट १ सय ८० मिलिग्राम खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ।

यसअघि पनि पुनर्वास प्रहरीले शनिवार राती खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको थियो। २ सय १० मिलिग्राम खैरो हेरोइनसहित टाउँके बजारका १७ वर्षीय अभिषेक चौधरी पक्राउ परेका थिए।

खैरो हेरोइनसहित पक्राउ पर्ने क्रम पछिल्ला दिनमा बढेको छ। सीमावर्ती भारतीय बजारहरूमा खैरो हेरोइन सजिलै पाइन्छ। यसबारे सरोकारवाला निकायको ध्यानाकर्षण हुनु आवश्यक रहेको स्थानीयको भनाई छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...