अत्तरिया- कैलालीको गोदावरी नगरपालीकाले पन्ध्र हजार किसानलाई वर्गीकरण सहितको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । गत भदौको अन्तिम साता परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको गोदावरी नगरपालीकाले असार मसान्तभित्रै पन्ध्र हजार किसानलाई वर्गीकरण सहितको परिचयपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पहिलो चरणमा २५ जना किसानले परिचय पत्र प्राप्त गरेका थिए ।



नगरपालीकाको कृषी शाखा प्रमुख नन्दी मल्लका अनुसार रातो, सेतो हरियो र निलो गरी चार प्रकारका कार्ड रहेका छन् । किसानको अवस्था हेरी सफ्टवयर मार्फत वर्गीकरण गरीएको मल्लले बताईन् । उनका अनुसार भूमिहीन, मजदुर, किसान, सीमान्तकृत र विपन्न किसानलाई एक श्रेणी रातो कार्ड, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराँईदैछ ।



तीन कट्ठासम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । यीनीहरुलाई रातो कार्ड उपलब्ध गराईनेछ । चार कठ्ठादेखि १५ कठ्ठासम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाख रुपैँयासम्म बार्षिक आम्दानी गर्ने किसानलाई साना किसानका रुपमा राखिएको छ ।
साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ । यिनीहरुले हरियो कार्ड पाउनेछन् । १५ कठ्ठा देखि तीन विघा जग्गा भएका, कृषिबाट ५ लाख देखि १५ लाख बार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ ।
मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । मझौला किसानले पहेँलो कार्ड प्राप्त गर्नेछन् । तीन विघा भन्दा बढी जग्गा भएका, कृषि कार्यबाट १५ लाख देखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ । त्यस्ता किसानलाई गोदावरी नगरपालीकाको कृषी एन कार्यविधी अनुसार २५ प्रतिशत अनुदान उपलब्ध गराइने बताईएको छ ।
स्वयंम खेती नगर्ने, जग्गा भाडामा दिने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सूचीकृत नगरिएको बताईएको छ। यिनीहरुले सेतो कार्ड पाउनेछन् । परिचय पत्र प्राप्त गरेका किसानले कार्डका आधारमा राज्यबाट पाउने कृषी सम्बन्धीको सेवा सुविधा पाउनेछन् । उत्त कार्यमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले प्राविधीक सहयोग गरेको छ भने केयर नेपालले आर्थीक सहयोग गरेको छ ।

