अत्तरिया- कैलालीको अत्तरियामा रहेको सब डिभिजन वन कार्यालय गोदावरीले यस वर्ष ४० हजार बिरुवा निःशुल्क वितरण गर्न लागेको छ । सब डिभिजन वन कार्यालय गोदावरीका प्रमुख अधिकृत निरञ्जन कडालले यस वर्षको वर्षायाममा तीन प्रजातीका ४० हजार बिरुवा निःशुल्क वितरणको कार्य सुरु गरीएको बताए । मसला, टिक र बकैना गरी तीन प्रजातीका बिरुवा निःशुल्क वितरण गर्न लागिएको बताए ।




मसला र टिक काठका रुपमा काम प्रयोग हुन्छन भने बकैना घाँसका रुपमा काम लाग्छ । वन कार्यालय पुग्ने सामुदायिक वन, संघ सँस्था, व्यत्ति सबैलाई बिरुवा उपलब्ध गराईने उनले बताए । करिब दश हजार बिरुवा गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको बडीमालीका सामुदायिक वन र नवज्योति सामुदायिक वनमा सब डिभिजन वन कार्यालयले नै रोप्ने कडालले बताएका छन् ।


गोदावरी नगरपालीकालाई प्राथमिकतामा राखी छिमेकी पालीका बासीहरुलाई पनी बिरुवा उपलब्ध गराईने उनले बताए । वन तथा वातावरणको संरक्षण गर्ने उद्देश्य सहित सब डिभिजन वन कार्यालय अत्तरियाले हरेक वर्ष वर्षायाममा निःशुल्क बिरुवा वितरण गर्दै आईरहेको छ । गत वर्ष कार्यालयले १ लाख बिरुवा वितरण गरेको थियो ।

