कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान गर्न सांसद तामाङको माग

काठमाडौं- एमाले सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट ०५८ सालमा विस्तापित पीडितहरू पुनर्स्थापना र क्षतिपूर्ति माग्दै दुई महिनादेखि काठमाडौंमा भौँतारिरहेका वेला सांसद तामाङले प्रतिनिधिसभाको शून्य समयमा सोमबार यो विषय उठाएका हुन्।

‘कतिपटक उठाउनुपर्ने हो, कञ्चनपुरका आरक्षपीडितहरू अहिले पनि काठमाडौंमा भौँतारिराखेका छन्। सरकारले चासो दिएको छैन। यसतर्फ छिटो ध्यान जाओस्,’ उनले भने।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आरक्ष विस्तारका क्रममा आफ्नो घरखेत खोसिएपछि २२ वर्षदेखि सडककिनारमा शिविरमा बस्दै आएका पीडितहरूको टोली काठमाडौं आएर पछिल्लो दुई महिनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, वनमन्त्री, विभिन्न दलका नेताहरू भेटेर समस्या समाधानका लागि आवाज उठाए पनि सरकारले कुनै ठोस कदम चालेको छैन।

आरक्षपीडित संघर्ष समितिमा सचिव प्रेमदत्त भट्टले राज्य सञ्चालकबाट आश्वासन धेरै पाए पनि आफूहरूको माग सम्बोधन गर्न कसैले ध्यान नदिएको गुनासो गरे।

सांसद तामाङले कञ्चनपुरको दोदा नदीमा ०६५ मा आएको भीषण बाढीबाट विस्थापितहरूको अझैसम्म पुनर्स्थापना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।

‘बारम्बार आवाज उठाए। तर, बाढीबाट विस्थापित भएर जंगलको किनारामा बसेका राना थारू र पहाडी बस्ती अझै सरकारले व्यवस्थित गर्न सकेको छैन,’ उनले भने, ‘साथै लालझाडी, बेलौरी र पुनर्वासका केही वडाहरू पूरै डुबानमा पर्छन्। यसको समाधान गरियोस्। बाढीपहिरोबाट पीडितहरूको लागि सरकारले उचित ध्यान देओस्।’

 

Loading...