कञ्चनपुरमा लक्ष्यभन्दा ३० हजार बढीले लगाए दादुरा विरुद्धको खोप

कञ्चनपुर- कञ्चनपुरमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको छ । जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानअन्तर्गत १ लाख ४७ हजार ४५३ बालबालिकाले खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले जेठ २५ देखि ३२ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका १ लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा झण्डै ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

‘लक्ष्यभन्दा धेरै बढी बालबालिकाले खोप लगाएका छन्,’ स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले भने, ‘अहिले पनि केही पालिकामा छुटेका बालबालिकालाई खोजेर खोप लगाउने काम भइरहेको छ ।’ उनका अनुसार खोप केन्द्रसम्म नआएका ५८६ बालबालिकालाई खोजेरै खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार ६ महिनादेखि ५ वर्षमुनिका ३९ हजार ३९३ र ५ वर्षदेखि १५ वर्षमुनिका १ लाख ८ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा ५६५ केन्द्र तोकिएको थियो ।

Dadeldhura hospital

स्वास्थ्य कार्यालयले खोप अभियान सकिएपछि पनि असार १० सम्म छुटेका बालबालिकालाई खोजी गरी खोप लगाउने समय तोकेको छ । अहिले विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु छुटेका बालबालिकाको खोजी गरिररहेका छन् ।

दादुरा र रुबेलाविरुद्ध ६ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । तर, कतिपय बालबालिकालाई नियमित खोप समेत नलगाइएका कारण जिल्लामा दादुराको प्रकोप फैलिने जोखिम बढेको थियो । दुई महिनाअघि जिल्लाको कृष्णपुर नगरपालिकाका दादुरा संक्रमित देखिएपछि आकस्मिकरुपमा अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार १५ महिनाभित्र १३ रोगविरुद्ध ७ खोप लगाउनुपर्छ । उक्त सबै खोप ८० प्रतिशत बालबालिकाले मात्रै लगाएको पाइन्छ । अहिले पनि बालबालिकालाई घर घरमै पुगेर खोजी गरेर केन्द्रसम्म पुर्‍याइएको कोल्ड चेन अधिकृत कुँवरले बताए ।

दादुरा संक्रमण फैलिन थालेपछि सुदूरपश्चिमका कञ्चनपुरसँगै कैलाली र बाजुरालगायत देशभरिका १६ जिल्लामा आकस्मिक खोप अभियान सुरु गरिएको थियो । सरकारले २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।

केही वर्षअघिसम्म दादुरा नियन्त्रणको अवस्थामा थियो । २०१८ मा पनि नियमित रुपमा संक्रमण देखिन थालेपछि निवारणमा समस्या देखिएको हो । यही कारणले संक्रमण देखिएका जिल्लामा आकस्मिक खोप अभियान सञ्चालन गरिएको हो ।

 

 

Loading...