निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाकमा काम गर्ने मजदूरले ज्याला नपाउँदा समस्यामा

सुदूरपश्चिम- निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन्।

निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गरे। “ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके”, आचार्यले सुनाए, “काम गरेको ज्याला नपाएर १२५ मजदूर पीडित बनेका छौँ।”

Navadurga sun

निर्माण कम्पनीबाट काम गरेबापतको झण्डै ३५ लाख पाउन बाँकी रहेको मजदूरको भनाइ छ। फास्ट ट्रयाकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुङ्गा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदूर मीनबहादुर रोक्कामगरले बताए।

निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरुको नरहेको बताए। उनले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको नौ लाख ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताए।

कोरोना सङ्क्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया—दीपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी–दीपायल–चैनपुर–उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...