कैलाली- कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णयबाट सरकार पछि हटेपछि आन्दोलन सुरु भएको छ । नेकपा एमालेले सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने गरेको निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेको हो ।
गत माघ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय अनुसार बजेट नआएपछि केही दिन देखी कैलालीमा आन्दोलन सुरु भएको छ ।
आज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भन्दै तयार भइरहेका संरचना अघि एमालेले विरोध जुलुस निकालेको हो । नाराबाजी सहित निकालिएको र्याली कोण सभामा परिणत भएको थियो ।
उनीहरुले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका सांसद वीर बहादुर बलायरको दबाबमा गेटालाई विश्वविद्यालय बाट सय शय्याको अस्पतालमा घटुवा गरेको आरोप लगाएका हुन् ।

‘यहाँबाट निर्वाचित सांसद मेडिकल माफियासँग मिले ’ एमाले प्रदेश कमिटीका सचिवालय सदस्य दामोदर रिजालले भने ‘वीर बहादुर बलायरले हामी माथि अन्याय गरे ।’ र्यालीमा समेत सांसद बलायरलाई मेडिकल माफियासँग मिलेको भन्दै विरुद्ध नाराबाजी गरिएको थियो ।
बलायर कांग्रेस प्रदेश सभापति समेत हुन् । उनकै दबाबमा सरकार विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर बजेट भाषणमा प्रतिष्ठान चलाउन बजेटको व्यवस्था गरिने कुरा उल्लेख गरिएको आरोप छ ।
उनले जेठ १ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्मलाग्दो भएको बताएका थिए ।उनकै निर्वाचन क्षेत्रमा बन्न लागेको विश्वविद्यालयप्रति नकारात्मक टिप्पणी गरेपछि उनीमाथि प्रश्न चिन्ह खडा गरेको छ ।
उनले भनेका थिए, ‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौ धौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो, मेडिकल विश्वविद्यालय खोल्ने ? वडा अचम्म छ ! मेडिकल विश्वविद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ ? त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।’
सरकारले गेटामा भवन निर्माण गर्न करिब ६ अर्ब खर्च गरेको छ । ६ सय शय्याको अस्पताल चलाउन भौतिक पूर्वाधार तयार भए पनि सय शय्याको अस्पताल चलाउन बजेट आउने भएपछि यहाँका स्थानीय आन्दोलित भएका हुन् ।
