को हुन् वन मन्त्री बन्न लागेका राना ?





अत्तरिया, २७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज अपराह्न ४ बजे हुने सम्भावना रहेको छ ।
यस पटक प्रधानमन्त्री ओलीले अधिकांश नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । ती मध्येका एक हुन् नारद मुनी राना । उनलाई वन तथा वातावरण मन्त्री बनाउने तयारी गरिएको छ । राना समुदायबाट उनी ३५ बर्ष पछि मन्त्री बन्न थालेका हुन् ।


२०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमि सुधार राज्य मन्त्री भएकी थिइन्। कैलाली कञ्चनपुरमा राना थारुहरूको बसोबास छ ।


यस पटक वन मन्त्री बन्दै गरेका राना विघटित प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनले काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवालाई पराजित गरेका थिए ।
२०६४ सालको संविधान सभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका थिए ।

२०६१ सालमा सेती अञ्चल अस्पताल विकास समितिको ९ महिना अध्यक्ष भएका राना शिव नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ९ बर्ष सम्म अध्यक्ष रहेका थिए ।
को हुन् रानार ?
२०२९ वैशाख १९ गते धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा स्वर्गीय रत्तीराम राना थारु र सुदामा देवी राना थारुको कोखबाट राना जन्मिएका हुन् । उनले राजनैतिकशात्रमा स्नातकोत्तर गरेका छन् ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवालाई पराजित गरेका थिए । त्यो बेला रानाको मत २७ हजार २३२ थियो । राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।
२०४३ सालमा अनेरास्ववियु पाँचौँको सदस्य रहेका राना २०४६ को आन्दोलनमा थुनामा परेका थिए । २०४८ मा नेकपा एमाले तत्कालीन धनगढी नगरपालिका ८ का पार्टी सक्रिय दलमा रहेका उनी अर्को वर्ष २०४९ सालमा सचिव भए ।
त्यसपछि २०५१ साल सम्म राना अध्यक्ष भए । त्यसपछि २०५३ साल सम्म उनी नगर कमिटी सदस्य भए । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको सदस्य ४ बर्ष रहे । २०५६ देखि २०७२ साल सम्म १६ वर्ष उनी जिल्ला कमिटी र सचिवालय सदस्य रहे ।
३०७३ सालमा वैकल्पिक केन्द्रीय सदस्य भएका राना २०७५ सालमा केन्द्रीय सदस्य भएका थिए ।
अहिले राना नेकपा एमालेको सुदूरपश्चिम प्रदेश सह इन्चार्ज तथा कैलालीका इन्चार्ज छन् ।



