स्वास्थ्यका हाकिमको मेडिकलमा छापा

बैतडी- पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजकले श्रीमतीलाई नक्कली स्वास्थ्यकर्मी बनाई सञ्चालन गरेको मेडिकल पसल सिल गरिएको छ । बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले मदिरा पसलमा भेटेरिनरीको औषधीसमेत बिक्री गर्ने थप तीन वटा पसलमा ताला लगाएको छ ।

पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहले आफ्नी श्रीमती श्यामा साहका नामबाट मेडिकल खोलेर श्रीमतीलाई औषधि बिक्री गर्ने र बिरामी चेकजाँच गर्न लगाउने गरेको पाइएको छ ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाएका शाहले नै पञ्चेश्वर गाउँपालिका–४, आमचोरामा श्रीमतीका नामबाट श्यामा क्लिनिक सञ्चालन गर्दै आएको गुनासोपछि मेडिकलन सिल गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Dadeldhura hospital

मेडिकल सञ्चालनसम्बन्धी कुनै शिक्षा हासिल नगरेकी श्यामा साहले बिरामीलाई चेकजाँच गर्ने र औषधीसमेत दिने गरेको पाइएको छ । दिउँसो श्रीमतीले मेडिकल चलाउने र बिहान बेलुका साह आफैँ बस्ने गरेको स्वास्थ्य संयोजक साहले स्वीकारे ।

स्वास्थ्य संयोजक साह विगत ३० वर्षदेखि पञ्चेश्वरमा कार्यरत छन् । सरकारी स्वास्थ्य अधिकृत साहले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएकामा प्रशासनको अगुवाइमा मेडिकल सिल गरिएको स्थानीय वीर चन्दले बताए ।

त्यस्तै पञ्चेश्वर गाउँपालिकाभित्र दर्ता नै नभएका मदिरा पसलमा बिनाइजाजत भेटेरिनरीसम्बन्धी औषधी बिक्री गरेको पाइएको छ । त्यस्ता पसल सिल गरेर जरिबानासहित सबै औषधी जफत गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

खाद्य पसलका अतिरिक्त मदिरा पसल र मेडिकल गरी १९ वटा पसलमा गरिएको अनुगमनका क्रममा विभिन्न खाद्य पसलबाट बरामद करिब एक लाख एक हजार मूल्य बराबरको अखाद्य वस्तुहरू नष्ट गरिएको छ ।

 

Loading...