

धनगढी- कैलालीमा लागु औषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर १ बाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन्।


ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ टीकापुर नगरपालिका १ सतघरुवाबाट सोही ठाउँका २८ वर्षीय प्रकाश चौधरीको घरबाट स्वयम चौधरी, टीकापुर १ ज्योतीनगरका २७ वर्षीय कृष्ण बराल, भजनी नगरपालिका ८ कृष्ण नगरका वर्ष २३ वर्षीय रतन जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रहरीले चेकजाँच गर्दा उनीहरू बसिरहेको खटियाको सिरानी मुनी प्लास्टिकको पोकामा राखिएको १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला पारेको थियो।
यस्तै प्रहरी टोलीले अछाम विनायक पञ्चदेवल नगरपालिका ७ पुल्यतोला घर भई टीकापुर १ ज्योतीनगरका १८ वर्षीय धिरेन्द्र बटालालाई पक्राउ गरेको छ । उनको साथबाट २९० मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको हो ।
उनी आइतबार साँझ टीकापुर नगरपालिका १ स्थित वीरेन्द्र विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको खेल मैदान नजिक सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





