

काठमाडौँ- यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ ९शुभम० का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपिदिएको छ। राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले बताए।



शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा ७५ वर्षीय राईविरुद्ध गत शुक्रबार जाहेरी दिएकी थिइन्। त्यसपछि त्यही दिन खोटाङ प्रहरीले उनलाई पक्राउ गरेको थियो। शनिबार सार्वजनिक बिदा भएकाले राईलाई आइतवार अदालत उपस्थित गराई म्याद थप गरेर अनुसन्धान अनुमति लिइएको मुकारुङले बताए।


अहिले अभियुक्त राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। जाहेरी दिने किशोरी अहिले कसैको संरक्षणमा छिन्। जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।
यसअघि मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको थियो। दिक्तेलस्थित जाल्पा माध्यमिक विद्यालयको सहमति लिएर नौ वर्षअघि मदनले खोलेको उक्त फाउन्डेसनमा होस्टेल बनाएर बालबालिका राख्ने गरिएको छ।