

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरामा हैजा फैलिएको बताएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रम बोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन्।


‘डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा हैजा फैलिएको सूचना आएको छ। त्यसलाई नियन्त्रण गर्न जिल्ला सदरमुकामबाट हामीले चिकित्सक र औषधिसहितको टोली खटाइसकेका छौँ,’ कार्यक्रममा मन्त्री बस्नेतले भने। उनका अनुसार डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा हैजा फैलिएको हो।


झाडापखाला लागेपछि मंगलबार परशुराम नगरपालिका-८ गुप्तेगडाकी १४ वर्षीया बालिका संगीता धामीलाई जोगबुढा अस्पताल भर्ना गरिएको थियो। उनलाई धनगढी रेफर गरिएपनि बीच बाटोमा नै उनको मृत्यु भएको थियो। उनको मृत्यु पनि हैजाकै कारणले भएको आशंका गरिएको छ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार हालसम्म एक जनामा हैजा पुष्टि भएको छ। ती व्यक्तिको एन्टिजेन परीक्षणमा हैजा पुष्टि भएको हो।हैजा पुष्टि भएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रजिअ न्यौपानेले जानकारी दिए। मृतक संगीताका बुवा कर्णबहादुर धामी वैदेशिक रोजगारीमा छन्। मृतक संगिताकी आमाको गत वर्ष घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो।

‘चिकित्सक र औषधिसहितको टोली हामीले खटाएका छौँ। अहिले आत्तिइहाल्नुपर्ने अवस्था नभएको त्यहाँ पुग्नुभएका चिकित्सकहरूले हामीलाई जानकारी गराउनुभएको छ,’ न्यौपानेले थपे, ‘टोलीले केही दिन जनचेतनाका कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्नेछ।’पछिल्लो समय अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ। उनका अनुसार अधिकांश बिरामी घरमा नै छन्। जोगबुढा अस्पतालमा ५(६ जनाको उपचार भइरहेको र जिल्ला अस्पताल ल्याइहाल्नुपर्ने केस नभएको आफूलाई भनिएको उनले बताए।
उता मृतक बालिका पक्षले जोगबुडा अस्पतालको लापरबाहीका कारण संगीताको मृत्यु भएको आरोप लगाएको छ। परशुराम नगरपालिका क्षेत्राधिकारभित्र जोगबुढा अस्पताल रहेकोमा नगरपालिकाले दोषीमाथि कारबाही गर्नु पर्ने माग पीडित पक्षको छ।
झाडापाखाला र ज्वरो आएपछि संगितालाई गत मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल भर्ना गरिएको थियो। उपचार त्यहाँ सम्भव नभएको भन्दै जोगबुडा अस्पतालले उनलाई धनगढी रेफर गरेको थियो। तर सोही साँझ ५ बजेतिर संगीताको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जोगबुडा अस्पतालले बताएको छ। मृतक संगीताका बुवा कर्णबहादुर धामी वैदेशिक रोजगारीमा छन्। मृतक संगिताकी आमाको गत वर्ष घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो।
पालिकामा हैजा फैलिएपछि परशुराम नगरपालिकाले शुक्रबार आकस्मिक विपद व्यवस्थापन समिति बैठक राखेको थियो। बैठकमा गाउँ, बस्ती, टोल र समुदायमा जनचेतनाका कार्कय्रम गर्ने निर्णय गरिएको छ। एफएम रेडियोका माध्यमबाट बढीभन्दा बढी सरसफाईका सूचना सन्देशहरु प्रसारण गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिककर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सबैले हातेमालो गरेर संक्रमण रोकथाम, नियन्त्रणको प्रयास गर्ने निर्णय बैठले गरेको छ।
जोगुबढाका १०० भन्दा धेरै व्यक्तिमा झाडापखालाको समस्या छ। परशुराम-७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार वैशाख २२ गतेदेखि हैजाको समस्या देखिन थालेको हो। हैजाको प्रकोप बढेपछि शनिबार वडा नम्बर ८ मा दुई चरणमा स्वास्थ्यशिविर सञ्चालन गरिएको छ।