

अत्तरिया- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड बाटोमा नै रहेको एमाले नेता भट्टको घर कैलालीको गोदावरी-१ अत्तरियामा पुगेका हुन । भट्टको घरमा आउने सुचना प्रचण्डले शनिबार नै पठाएका थिए ।



भट्ट सँग प्रचण्डले करिब आधा घण्टा राजनितिक र परिवारीक कुराकानी समेत गरे । भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भट्ट संग आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताए ।


प्रधानमन्त्रीले भने, ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन ।’
एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले पनि यो भेट परिवारिक नै भएको दाबी गरे । दुई नेता बिचको भेटघाटको क्रममा माओबादीका अधिकांस नेताहरु भट्ट निवास पुगेका थिए ।