

धनगढी- सुदूरपश्चिमका वैदेशिक रोजगारीमा जानेहरूमा सूचना र सीपको अभाव देखिएको छ । अधिकांश कामदार अदक्ष हुने भएकाले जोखिमपूणर् काम गर्नुपर्ने छ । गन्तव्य मुलुकको हावापानी, नियम कानून, काम गर्ने वातावारण र संस्कृतिबारे थाहा नहुँदा वैदेशिक रोजगारीमा जाने व्यक्तिले दुःख पाउनुपर्ने अवस्था रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले गरेको अध्ययनले देखाएको छ ।


सुदूरपश्चिमबाट कामको खोजीमा विदेश जानेहरुमा सबैभन्दा ठुलो संख्या अदक्ष कामदारको रहेको छ । तसर्थ स्थानीय सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि सिप सिक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का कार्यक्रम संयोजक दीपक बोहराले बताए ।
‘सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष हुने गरेका छन् । तालिम प्राप्त र दक्ष कामदारको राम्रो तलव सुविधा हुने र जोखिम पनि नहुने भए पनि यहाँबाट भने युवाहरू कुनै सिप र तालिम नलिएरै वैदेशिक रोजगारीमा जाने गरेका छन्, उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवा अदक्ष हुनुले जोखिमपूणर् काम गर्नुपर्ने हुन्छ ।
यस्तै, गन्तव्य मुलकको कानूनबारे अनविज्ञ हुँदा कानूनी समस्या भोग्नुपर्छ भने श्रम स्वीकृति नलिएरै गन्तव्य मुलुकमा बस्ने गर्नाले पनि समस्या भोग्नु परेको छ । कम्तीमा सिपमुलक तालिम दिन सक्यो भने वैदेशिक रोजगारी सुरक्षित हुने थियो ।’ वैदेशिक रोजगारीमा जाने युवाहरूले स्वदेश र विदेशमा विभिन्न चुनौति र समस्या भोग्नु परेको अध्ययनहरूले देखाएको छ ।



रकम भुक्तानी गरेपछि लामो समयसम्म गन्तव्य मुलुकमा जान नपाउनु, रकम तिरेको अभिलेख र प्रमाण नपाउने, मेनपावर कम्पनी तथा स्थानीय एजेन्टको चलखेलले गर्दा बढी रकम तिरेर रोजगारीमा जानुपर्ने बाध्यता रहेको सरोकारवालाले बताएका छन् । यस्तै गन्तव्य मुलुकमा काम राम्रो नपाउनु, कम्पनी बन्द हुनु, स्वास्थ्य उपचार र कानूनी उपचारमा समस्या हुने गरेका छन् ।
वैदेशिक रोजगारबाट फर्केपछि कतिपयले पारिवारिक झमेला पनि भोग्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्ष देवेन्द्रबहादुर पालले बताए । अदक्ष कामदारको रुपमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताले राम्रो आम्दानी गर्न नसक्ने समस्या रहेको छ । दक्ष कामदारले कम जोखिसयुक्त काम पाउने र आम्दानी पनि राम्रो गर्ने सक्ने भए पनि सरकारले वैदेशिक रोजगारीमा जान प्रोत्साहन गरे पनि तालिम प्रदान गरेर सिप सिकाउन भने सकेको छैन ।
सिप सिकाउने कुरामा स्थानीय सरकारले प्रभावकारी काम गर्न सक्ने सरोकारवालाले बताएका छन् । स्थनीय तहले विदेश जान तालिम दिनेभन्दा पनि मुलुकभित्रै स्वरोजगार हुने वातावरण निर्माण गर्नुपर्ने धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले बताए । ‘धनगढी उपमहानगरपालिकाले सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यका साथ वडाहरूमा स्थानीय सिपको हस्तान्तरण र परिस्कृत गर्न तालिम दिने योजना अगाडि बढाएको छ,’ उनले भने, ‘स्थानीय स्तरमै रोजगारीका अवसर बढाउने लक्ष्य उपमहानगरको छ ।’