
कञ्चनपुर– भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रका गाउँ नजिक बाघ देखिन थालेको छ । पछिल्लो सातायता पुनर्वास र बेलौरीका विभिन्न ठाउँहरुमा बाघ देखिएको छ ।





गाउँमा बाघ देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । सीमा क्षेत्रमा बाघको आक्रमणमा परी एक नेपाली र एक भारतीय महिलाको मृत्यु भएको थियो ।




गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका- १० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । त्यसको एक सातापछि बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो ।
दैनिकजसो गाउँ नजिक बाघ देखिन थालेपछि स्थानीय त्रसित बनेका हुन । स्थानीयहरुले ट्याक्टरको हर्न बजाएर बाघ धपाउने प्रयास गरेका छन् । बाघ गाउँमा पस्न नदिन स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । पुनर्वास नगरपालिका- ४ शहिद गौतम चौक, पुनर्वास नगरपालिका-१० भिमबस्ती, बसहिया, पिलर नं. २०२, २०३, २०४ क्षेत्र, भारतीय गाउँ, कृष्णनगर, खजुरिया र बेलौरी-कलकत्ता सडकमा बाघ देखिएको थियो ।