
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षामा अध्ययनरत ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप जनही ५० हजार रुपैँया वितरण गरेको जनाएको छ ।


शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न जेहेन्दार विद्यार्थीहरुका लागि उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको जनाएको हो । छात्रवृत्ति पाउनेमा भीमदत्त नगरपालिका १४ की सुशिला विसी, भीमदत्त नगरपालिका ६ की भावना भट्ट, भीमदत्त नगरपालिका १२ की रोशनी भट्ट र भीमदत्त नगरपालिका १८ का भवेन्द्र सिंह रहेको शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले जानकारी दिए ।

माघ १२ गते छात्रवृत्ती आह्वान गर्दै पहिलो सुचना पालिकाले निकालेकोमा भने जती निवेदन नआएपछि पुनः अर्को सुचना फागुन १६ गते निकालेको उनले बताए । अर्को सुचनामा १५ जनाले दिएको निवेदन र उनिहरुले पाएको उच्च अंकबाट मुल्याङकन गरेर यो छात्रवृत्ती प्रदान गरिएको उनले बताए ।