डडेल्धुरा र कञ्चनपुर जिल्लामा पठाएका करोडौं मूल्य पर्ने डायलसिस मेसिन थन्किँदा बिरामी मर्कामा

धनगढी– अछाम तुर्माखाँदका ३१ वर्षीय भक्तबहादुर बयक क्षेत्री दुवै मिर्गौलामा खराबी आएपछि डेढ वर्षदेखि वीर अस्पतालमा डायलसिस गराउँदै आएका छन् । उनी डायलसिसका लागि राजधानी बसाइँ सरेका हुन् । काठमाडौं बसाइ महँगो भएकाले घरनजिकको अस्पतालमा डायलसिस गराउन चाहन्छन् तर जिल्लाबाट नजिकको डडेलधुरा अस्पतालमा सरकारले डायलसिस मेसिन पठाए पनि सञ्चालनमा छैन । अस्पतालमा ७ वटा मेसिन अलपत्र छ ।

क्षेत्री भन्छन्, ‘सबैभन्दा सजिलो सुर्खेतमा हो तर त्यहाँ बेड पाउन मुस्किल छ । डडेलधुराको अवस्था यस्तो छ ।’ डडेलधुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चेतराज भट्टले मेसिन पठाएर मात्र नहुने बताए । उनले भने,  ‘अस्पतालको मुख्य भवन बनिसकेको छैन, हस्तान्तरण हुनेबित्तिकै सञ्चालनमा ल्याउँछौं ।’

Navadurga sun
Godawari sandesh

सरकारले मिर्गौलापीडितलाई लक्षित गरी जिल्लामा पठाएका करोडौं मूल्य पर्ने डायलसिस मेसिन थन्किँदा मर्कामा पर्ने बिरामीको संख्या थपिँदो छ । एउटा मेसिनबाट दैनिक तीन जनासम्मको डायलसिस गर्न सकिन्छ । अहिले अलपत्र अवस्थामा रहेका ७ वटा मेसिन सञ्चालन गरेको भए धेरै पीडितको डायलसिस गराउन सकिन्थ्यो ।

Dadeldhura hospital

डडेलधुरा अस्पतालले सातामा ५-६ जना मिर्गौलाका बिरामी राजधानी रेफर गर्ने गरेको छ । जिल्लामा डायलसिस मेसिन सञ्चालन नभएका कारण राजधानी धाउन पर्दा एक त बिरामीले कष्ट भोग्नुपरेको छ । समयमा डायलसिस गराउन नसके बिरामीको अकालमै मृत्युसमेत हुन सक्छ । वाकवाक लाग्ने, खाना नरुच्ने, हातखुट्टा सुन्निने, सास फेर्न गाह्रो हुने यसको लक्षण हो ।

त्यसैगरी कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीका लागि उपयोगी हुने डायलसिस मेसिन आएको डेढ वर्ष भए पनि सञ्चालनमा आउन सकेको छैन । सबै उपकरण जडान भइसकेको छ । जनशक्ति भर्ना र तालिम दिने काम पनि भएको छ । तर, डायलसिस सेवा भने सञ्चालन हुन सकेको छैन् । डायलसिस सेवाका लागि दुई महिनादेखि सबै उपकरण तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य सेवा विभागबाट अनुमति र सूचीकृत नहुँदा सेवा सञ्चालन हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । अस्पतालले यसकै लागि ४ जना तालिमप्राप्त स्टाफ नर्स भर्ना समेत गरिएको छ । तीन डाक्टरलाई तालिम दिएको छ । अस्पतालमा ५ वटा डायलसिस मेसिन जडान गरिएको छ ।

जसमध्ये ४ मेसिनबाट नियमित सेवा दिइने र एउटालाई आकस्मिक रूपमा राखिनेछ । कञ्चनपुरबाट ४० जनाभन्दा बढी मिर्गौला रोगी डायलसिसका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुग्ने गर्छन । तर पालो पाउनै मुश्किल हुने गरेको विरामीको गुनासो छ । निजी स्वास्थ्य संस्थामा डायलसिस गराउँदा एक पटकको साढे ४ हजारसम्म खर्च लाग्ने गरेको छ ।

सेती प्रादेशिक अस्पतालमा पनि दुई पटकभन्दा बढी डायलसिस गराउँदा औषधि र अन्य सामानको साढे ३ हजारसम्म शुल्क लाग्ने गरेको सेवाग्राही बताउँछन। सेतीमा डायलसिस गराउन आउने बिरामीको संख्या १७० छ । १४ उपकरणमध्ये ११ बाट नियमित डायलसिस भइरहेको छ भने एक आकस्मिक र दुई एचआईभी र हेपाटाइटिस भएका बिरामीका लागि छुट्याइएको छ ।

Loading...