यु–१६ क्रिकेट छनौट : बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा

बैतडी – बैतडी जिल्ला क्रिकेट संघले जिल्लाको १६ वर्षमुनिका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तीन दिनसम्म देहिमाडौंमा सञ्चालन भएको छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष शेरसिंह खत्रीले जानकारी दिए।

बन्द प्रशिक्षणका लागि नरेन भट्ट, आकाश चन्द, विक्की चन्द, सुदीप कार्की, हर्ष कार्की, सचिन भट्ट, कल्पेश चन्द,आयुष चन्द, अशोकनाथ योगी, दीपेश पाण्डे, विक्रम बोहरा, जितु थापा, भूपेश चन्द, विनोद लावड, रूपेश साउद, निखिल चन्द, हेमन्त धामी र रोशन चन्द छनौट भएका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यहाँका पालिकाहरूबाट आएका खेलाडीबाट टोली बनाएर यसअघि प्रतिस्प्रर्धा गराइएको र त्यसपछि खेलाडी छनौट गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले जानकारी दिए। सहभागी हुन आउने खेलाडीलाई उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरेको छ।

बन्द प्रशिक्षणको मिति केही दिनमै तोकिने र प्रशिक्षण देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ। प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्ला टोली घोषणा गरिने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। छनौट भएको जिल्लाको टोलीले प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नेछ।

नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मद्देनजर गर्दै जिल्ला छनौट चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ। उक्त प्रतियोगितामा नेपाल पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।

Loading...