धनगढीमा बाघ देखिएपछि स्थानीय त्रसित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयले बताएका छन्।

धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए। तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ। सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएको उनले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शुक्रबार धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिला बाघको आक्रमणबाट मारिएपछि स्थानीय थप त्रसित भएका छन्। शुक्रबार नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु हो।

बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै गरेको स्थानीयले बताएका थिए। बाघ कराएको थाहा पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए।

शुक्रबार धनगढी–३ स्थित प्रस्तावित बसपार्क पछाडि बच्चासहितको बाघ हिँड्डुल गर्दै र कराउँदै गरेको अवस्थामा देखिएको वडाध्यक्ष ऐरले जानकारी दिए। उनले दैनिकजसो बाघ देखिएकाले नदी किनार तथा वन जङ्गल जाँदा सुरक्षित रहन अनुरोध गरेका छन्। रासस

Loading...