कोरोना संक्रमणदर सुदूरपश्चिम प्रदेशमा घट्दै





धनगढी, १९ जेठ- कोरोना संक्रमणदर सुदूरपश्चिम प्रदेशमा घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा केही दिन अघि मात्रै एकै दिनमा ३१ जनासम्म संक्रमितले ज्यान गुमाउने गरेका थिए । प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमितको उपचार गरिरहेको सेती प्रादेशिक अस्पतालमा बिरामीले बेड नपाएर भुइँमा उपचार गर्नुपरेको थियो । तर हिजोआज कोरोना संक्रमणदर घट्दै गएको तथ्यांकले देखाएको हो ।


दुई अंकमा रहेको कोरोना संक्रमितको मृत्युदर पछिल्लो हप्ता दिनयता एक अंकमा झरेको छ । सुदुरपश्चिममा सोमबार मात्र ५ जनाले ज्यान गुमाएका थिए । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यो संख्या सबैभन्दा कम हो । यो अवधिमा मृत्युदर मात्रै होइन, संक्रमितको संख्या पनि केही कम भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । एक साताअघिको मंगलबार प्रदेशमा ५३४ संक्रमित फेला परेका थिए । बुधबार ३१६, बिहीबार ३३२, शुक्रबार ३२४ शनिबार ३४०, आइतबार ३१२ र सोमबार २७९ जनामा संक्रमण पुष्टि भएको छ ।


सुदूरपश्चिम प्रदेशमा विगतमा भन्दा अहिले कोरोना संक्रमित निको भइरहेका छन् । ६ दिनमा २ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय ३० निको भएका छन् । पछिल्लो समयमा भारतबाटै संक्रमित भएर नेपाल फर्कनेको संख्या घट्नुले पनि सुदूरपश्चिममा कोरोना संक्रमितको दर घट्दो रहेको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । डाक्टर अवस्थीका अनुसार ‘पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।’

त्यसैगरी सुदूरपश्चिममा कोरोना संक्रमणपश्चात मृत्यु हुनेको संख्या पनि घटेको बताउँछन् । कोरोनाका कारण अप्ठ्यारो महसुस कम हुनु र अस्पताल जानेको संख्या घट्नुले पनि मृत्युदर कम भएको तथ्यांकले देखाएको डाक्टर अवस्थी बताए। कोरोनाले स्वास्थ्य अवस्था नाजुक हुँदा अस्पताल जानेको संख्या बढेको देखिए पनि पछिल्लो समयमा भने होम आइसोलेसनमै निको हुनेको संख्या बढेकाले पनि मृत्युदर घटेको देखिएको उनी बताउँछन् । ‘घरमै होम आइसोलेसनमा सेल्फ केयरबाटै अत्यधिक संक्रमित सञ्चो भइरहेका छन्,’ उनले भने, ‘त्यसैले पनि अस्पताल जानेको संख्या घटेको देखिन्छ ।’
भारतका विभिन्न सहरबाट हिजो-आज कञ्चनपुरको गड्डाचौकी र त्रिनगर भन्सार भएर आउनेको संख्या पछिल्ला दिनमा घटिरहेको छ । आइतबार मात्रै भारतबाट ३ सय ३९ जना स्वदेश फर्केका छन् । दैनिक एक हजारभन्दा बढी स्वदेश फर्कने गरेका थिए । सो संख्या पछिल्लो समयमा घटिरहेको छ । चैत र वैशाख महिनामा नेपाल फर्कनेको संख्या अत्यधिक रहे पनि जेठ महिनाको सुरुवातदेखि भने त्यो संख्या घट्दो क्रममा छ ।
कैलालीको सेती अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा संक्रमितको उपचार भएको थियो । दुई साता अघिसम्म ती अस्पतालमा बिरामीलाई शय्याको चरम अभाव देखिएको थियो । तर, पछिल्लो एक सातायता ती अस्पतालमा पनि नयाँ संक्रमित भर्ना हुने क्रम कम भएको छ । सेती अस्पतालका १२२ जनासम्म भर्ना भएका थिए । अहिले ४७ जनाको मात्रै उपचार भइरहेको छ । ‘अहिले धेरै चाप कम भएको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ बताउँछन् ।
दोस्रो भेरियन्टको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा अहिलेसम्म ४ सय ७० जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीमा २ सय २९ जनाको मृत्यु भएको छ भने दोस्रोमा कञ्चनपुर रहेको छ । कञ्चनपुरमा १ सय ५५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी बझाङमा १७, अछाममा १६, बैतडीमा १५, डडेल्धुरा १२, दार्चुला ११, डोटी ८ र बाजुरामा ७ जनाको मृत्यु भएको छ ।



