

धनगढी- रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व होरी खखडेहरा फुटाएर सकिएको छ। आज बिहानै खखडेहरा फुटाएर यो पर्वको विधिवत् रुपमा समापन गरिएको हो। माघ पूर्णिमाबाट होरी पर्व सुरु भएको थियो। कैलाली, कञ्चनपुर बसोबासी रानाथारु समुदायको यो सबैभन्दा ठूलो पर्व हो।


एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ। जुन क्रममा एक महिनासम्म ‘जिन्दा होरी’ र आठ दिनसम्म ‘मरी होरी’ मनाइन्छ। होरी पर्वको अन्तिम दिन खखडेहरा हो। विहान ३र४ बजेतिर खखडेहरा फुटाएर एक वर्षको लागि होरीलाई बिदाइ गरिएको धनगढी उपमहानगरपालिकाका–८ धनगढी गाउँका वृद्ध रोना रानाले बताए ।


उनका अनुसार खखडेहरा फुटाउन भलमन्सासहित गाउँका किसान जाने गर्दछन्। उनीहरुले घरबाट टायल, माटोको गोली, फूल चामल लिएर जाने र गाउँभन्दा अलि पर गएर बाटोमा सेलाउने चलन छ। बाटोमा फुटाइएको खखडेहरामा पानी हाल्ने चलन छ। ‘यसरी बिहानै खखडेहरा फुटाएर होरीलाई पठाइएको हो’, रानाले भने।

खखडेहरा फुटाएर फर्केका किसानले घररघरमा फगुवा माग्ने ९होरीको दक्षिणा० गर्दछन्। त्यसपछि साँझ भलमन्साको घरमा रमाइलो गर्दै खानपिन गर्ने चलन रहेको उनले बताए ।
माघ पूर्णिमा होलीकाको पूजा अर्चना गरेर होरी पर्वको सुरुवात गरिएको थियो। खखडेहरा फुटाएर यसको समापन गरिएको छ। खखडेरापछि विधिवत् रुपमा यस वर्षको होरी पर्व सकिएको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए ।
खखडेहरा राना थारु समुदायको होरीको महत्वपूर्ण दिन हो। यस दिन प्रदेश सरकारले कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिंदै आएको छ।
रानाथारु समुदायका मानिसले होरी पर्व अवधिभरि होरी नाच नाचेर रमाउने चलन छ। जिन्दा होरी अवधिभरि साँझपख र राति होरी नाच्ने गरिन्छ। यसैगरी, मरी होरी अवधिभरि घर–घरमा गएर दिउँसो होरी नाच नाचेर रमाउने गरिन्छ।
यस्तै, आफन्तहरुलाई आ–आफ्ना घरमा डाकेर मिठा–मिठा परिकार खुवाउने, खाने चलन छ। दसैं, दिपावली कमै मनाउने आदिवासी जनजाति रानाथारु समुदायका मानिसले होरी र तीजपर्व धुमधामसँग मनाउँदै आएका छन्।