डोटीमा कोरोनासँगै भाइरल ज्वरोको जोखिम बढ्दै




डोटी, १८ जेठ- कोरोना संक्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढ्दै गएको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल गाउँपालिका, पूर्वीचौँकी गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।


गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितहरुको गुनासो रहेको छ।



यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको शिखर नगरपालिका वडा नं. १ समुहगाढका निवासी खडकबहादुर बोगटीले बताए । कोरोना संक्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्येक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल रहेको बोगटीले बताए ।
टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणसहितका बिरामी प्रायः दैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए ।
त्यसैगरी जोरायल गाउँपालिकाका स्वास्थ संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका बिरामी दैनिक स्वास्थ्य संस्थामा आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको समेत हुन सकेको छैन ।



