

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.११ मा विद्युत जडान तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र गोदावरी नगरपालिका वडा न ११ को सहकार्यमा संचालित ३ महिने निःशुल्क विद्युत जडान तालिम शुक्रबार सम्पन्न भएको हो ।


उक्त समापन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं.११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका कार्यालय प्रमुख भुवन राज पन्त रहनु भएको थियो ।



त्यस्तै प्रमुख अतिथि रहनु भएका पन्तले आफुले सिकेका सीपहरुको प्रमाण पत्रमा मात्रै सिमित नराखि सदुपयोग गर्नुपर्ने बताए । समाज रुपान्तरणसँगै जीवन स्तरमा सुधार ल्याउनका लागि विभिन्न प्रकारका सीप मूलक तालिम तथा व्यावसायिक तालिमहरुलाई निरन्तरता दिइने बताए ।
त्यसैगरी वडा नं.११ का वडा अध्यक्षले बेरोजगारीको समस्यालाई अन्त्य गर्ने र जीवन स्तरलाई माथि उकास्ने उद्देश्य सहित प्रदान गरिएका विभिन्न प्रकारका सीप मुलक तथा व्यावसायिक तालिमको सदुपयोग गर्नुपर्ने बताए । आगामी दिनमा पनि विभिन्न निकाय तथा संघसंस्थाहरुको समुन्वयमा यस्ता किसिमका कार्यक्रमहरुलाई अगाडी बढाइने बताए ।
त्यस्तै उक्त समापन कार्यक्रममा प्रशिक्षक नरेश सिंह बिष्ट, वडा नं.११ का वडा प्रतिनिधिहरु कुमार सिंह बडैला, गङ्गा खडुका, दिपा बि.क., व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका झेपेन्द्र बहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन गोदावरी नगरपालिका वडा नं.११ का वडा सचिव हेम बहादुर खड्काले गरेका थिए ।