अत्तरिया- कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा अगोरा स्पिकर्स इन्टरनेशनलले ‘स्कुल शो’ संचालन गरेको छ । नेपालभरका युवाहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले संचालित ‘स्कुल शो’ सोमबार देखि एभरेष्ट एकेडेमीमा संचालन गरिएको हो ।
एक साता सम्म चल्ने उक्त ‘स्कुल शो’ मा अगोरा स्पिकर्स क्यानडाका फ्रेड जोन्सले प्रशिक्षण दिइरहेका छन् । उनले तालिममा युवाहरूलाई प्रभावकारी सञ्चार, आलोचनात्मक सोच र नेतृत्व क्षमता विकास गर्ने सीप सिकाइने बताए ।
मंगलबार अत्तरियामा पत्रकारहरु संगको भेटघाटमा उनले १ साता संचालन हुने उक्त तालिम काठमाण्डौं र बुटवलमा सम्पन्न भइसकेको बताए । उनले तालिमबाट युवाहरूमा अन्तराष्ट्रिय स्तरको नेतृत्व विकास गरी अन्तरराष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्ने सीप सिकाइने बताए । तालिम नेपालका १० ठाउँमा १० विद्यालयमा संचालन गरिने जनाइएको छ । उक्त तालिम निःशुल्क प्रदान गरिने छ ।
एभरेष्ट एकेडेमीमा संचालित तालिममा २० जना विद्यार्थी सहभागी रहेको विद्यालयका प्रिन्सिपल वंशीराम चौधरीले बताए । उनले तालिमले विद्यार्थीहरूको आत्मविश्वास, रचनात्मक र आलोचनात्मक सोच विकासको लागि सहयोग पुग्ने अपेक्षा लिएको बताए । तालिमको अन्तिम दिन कैलालीका २० विद्यालय सहभागि गराएर विद्यार्थी बीच तालिमका बारेमा अन्तरक्रिया गराइने उनले बताए ।
२०१६ मा स्थापना भएको अगोरा स्पीकर्स एन्टरनेशनल फाउन्डेशन हाल विश्वका विभिन्न देशमा विस्तार भएको छ । यसले विश्वभरी निःशुल्क रुपमा बालबालिकालाई सार्वजनिक स्थानमा बोल्न, बहस गर्ने शैलिको विकास गर्नको लागि यस्तो किसिमको तालिम कार्यक्रम संचालन गर्दै आइरहेको छ ।