प्रक्रिया छोट्याई सुदूरपश्चिम सरकारले बजेट ल्याउदै





धनगढी, १६ जेठ- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रक्रिया छोट्याई बजेट ल्याउने तयारी गरेको छ । प्रदेशमा कोभिड-१९ महामारीको संक्रमण दर उच्च रहेकोले प्रदेश सभाको अधिवेशन सञ्चालन गर्दा संक्रमण हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रक्रिया छोट्याएर बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको जनाइएको छ ।



प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर्ा जोशीले शुक्रबार बसेको मन्त्री परिषद्को बैठकमा अध्यादेश मार्फत प्रक्रिया छोट्याउने विषयमा छलफल भएको बताइन् । प्रिबजेट (बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य), नीति तथा कार्यक्रम र बजेटमाथि छलफल लगायतका प्रक्रिया छोटो बनाउन अध्यादेश ल्याउने विषयमा छलफल भएको बताउदै मन्त्री जोशीले अध्यादेशको निणर्य भइनसकेको र अब बस्ने क्याविनेटबाट अध्यादेश जारी हुने बताईन् ।


उनले कोभिड-१९ को संक्रमणले गर्दा संसद बोलाउन निणर्य गर्न असहज भइरहेको बताइन् । ‘संसद् चलेपछि ५२ जना सांसद् लगाएत मर्यादापालक र कर्मचारी गरी ६५ जनाभन्दा बढि व्यक्तिको उपस्थिति हुने बताउदै मन्त्री जोशीले यतिका मानिस जम्मा हुँदा संक्रमण हुने खतरा रहने समेत बताइकी छन् ।



