अत्तरिया– सरकारले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णयको अत्तरियामा स्वागत गरिएको छ । गेटामा विश्वविद्यालय संचालन गरिनुपर्ने माग गर्दै लामो समय देखि दवाव दिदै आएको विश्वविद्यालय संचालानार्थ संघर्ष समितिले अत्तरिया चोकमा दीप प्रज्वलन गरेको हो ।




दीप प्रज्वलन पछि आयोजित कोष सभालाई सम्बोधन गर्दै समितिका संयोजक लोक राज पाण्डे आगोले सरकारको उक्त निर्णय स्वागत योग्य भएको बताए । उनले सरकारको निर्णयको सुदूरपश्चिमका जनताको सपना पुरा भएको बताए ।





समितिका सचिव धर्म सिह कुँवरले सरकारको निर्णय स्वागत योग्य भएकाले अब उक्त निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा निर्णय कार्यान्वयनका लागि सघर्षका कार्यक्रम जारी रहने बताए ।


दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डम्बर पालले गेटामा विश्वविद्यालयका लागि आवश्यक सबै आधार रहेकाले यसलाई विश्वविद्यालय मोडालिटिमा संचालन गरिनु गौरभको कुरा भएको बताए । उनले यस क्षेत्रमा विश्वविद्यालयका लागि भएका दवावको सरकारले सुनुवाई गरेको बताए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको थियो ।
अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।




