अत्तरिया- नेपाली कांग्रेस सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी सभापति वीरबहादुर बलायरलाई दिएको छ ।




कैलाली सदरमुकाम धनगढीमा आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले नवनियुक्त मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत जुटाउनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रदेश सभापति बलायरलाई दिने निणर्य गरेको हो ।







सहमहामन्त्री अम्बिका चलाउनेले मुख्यमन्त्री शाहका लागि विश्वासको मत जुटाउनका लागि अन्य दलहरुसँगै पार्टी नेतृत्वसँग समन्वय र छलफल गर्ने जिम्मेवारी प्रदेश सभापछि बलायरलाई दिने निणर्य गरेको जानकारी दिइन् ।
‘बैठकमा तीन वटा एजेन्डामा छलफल र निणर्य गरेका छौं। पहिलो एजेन्डा विश्वासको मतबारे थियो,’ उनले भनिन्, ‘मुख्यमन्त्रीज्यूको पक्षमा विश्वासको मतका लागि अन्य पार्टी र नेतृत्वसँग छलफल, समन्वयको जिम्मेवारी सभापतिज्यूलाई दिने निणर्य गर्यौं ।’ कांग्रेसको प्रदेश संसदीय दलका नेता शाह गत बिहीबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसेपछि ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सहमहामन्त्री चलाउनको अनुसार प्रदेश कार्यसमिति बैठकले विभागहरुलाई पूणर्ता दिने र जिल्ला कार्यसमितिहरुले निर्वाचनको समीक्षा गरेर आगामी फागुन १५ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने पनि निणर्य गरेको छ ।




