खोप खरिदका लागि भीमदत्त नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अनुमति माग्यो (पत्र सहित)





कञ्चनपुर, १५ जेठ- कञ्चनपुरको भीमदत्त नगरपालिकाले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको छ। कोरोना संक्रमणको जोखिम झन-झन बढेका कारण नगरवासीहरूलाई यथाशीघ्र खोप लगाउनुपर्ने भन्दै नगरपालिकाले खोप उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको हो ।



भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप उपलब्ध गराउन वा खरिदका लागि आवश्यक अनुमति दिन अनुरोध समेत गरेका छन् ।


‘कोभिड-१९ विरुद्धको भ्याक्सिन नगरवासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरवासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्डअनुसार कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन हुन वा भ्याक्सिन खरिदका लागि आवश्यक अनुमति प्रदान गरिदिन अनुरोध गर्दछौं,’ भनेर उक्त पत्रमा उल्लेख गरिएको छ ।




