धनगढी– कैलालीको टीकापुर घटनाको पेसी आज तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। यसअघि ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो।
उक्त घटनामा थारू अगुवा भनिएका रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। करिब त्यसको २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
फागुन १२ गते चौधरीको पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुनेछ।