स्टेपिङ स्टोन भयो डीसीए कप क्रिकेट प्रतियोगिताको च्याम्पियन

धनगढी– स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०९ रन बनाएको थियो । स्टेपिङका लागि किरण धामीले सर्बाधिक ३४ रन बनाए । २३ बलमा उनले ७ चौका प्रहार गरे ।

त्यस्तै अभिशेक खड्काले २६ बलमा २३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । त्यसबाहेक समिर कुँवरले ५ बलमा २ चौकासहित १० रन जोडे । बलिङतर्फ लिटिल फ्लवारका कुशल धामीले ३ तथा आर्यन धनपाली र किरण धामीले समान २-२ विकेट लिए ।

जवाफमा लिटिल फ्लवारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्रै बनाउँन सक्यो । उसका आशिष साहुले २९, सुबोध तिवारीले १३ तथा आरिस बोहराले १२ रन जोडे । स्टेपिङका अनुराग सिंहले ३ तथा सचिन भट्टले २ विकेट लिए ।

प्रतियोगिताको विजेता स्टेपिङले ५० हजार नगद पायो भने उपविजेता लिटिल फ्लवारले ३० हजार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङका कुशल धामी चुनिए । उनले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्ति पाए ।

यस्तै उत्कृष्ट ब्याटर लिटिल फ्लवारका अनुराग सिंह चुनिए । उनले ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए । उत्कृष्ट बलर लिटल फ्लवारकै सचिन भट्ट चुनिए । उनले पनि ३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाए । उदीयमान खेलाडीको अवार्ड पनि लिटिल फ्लवारकै रोशन रावलले पाए । उनले क्रिकेट शुज पाए ।

Loading...