बाँचा गरे अनुसार काम गर्न समस्या : नगर प्रमुख भट्ट

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सिमित श्रोत साधनले असिमित आवश्यकता पुरा गर्न समस्या भइरहेको बताएका छन् । बुधबार गोदावरी नगरपालिकाको नवौं नगरसभामा बोल्दै मेयर भट्टले जनताका अपेक्षा स्वाभाविक भएपनि सिमिति श्रोत साधनका कारण सबै पुरा गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘हामी जनप्रतिनिधि संग नगरका जनताले, नगरका कर्मचारीले अपेक्षा गर्नु स्वाभाविक कुरा हो । तर, हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने हामी कुन अवस्थामा छौ । हाम्रो आर्थिक अवस्था के छ ?’ उनले भने ‘नगर संग सिमित श्रोत साधन छ । तर, नगरका आवश्यकताहरु धेरै छन । यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो ।’

उनले चुनाव लड्दै गर्दा बिभिन्न ठाउँमा गरेका बाचाहरु पुरा गर्न गाह्रो भएको बताए । उनले भने ‘हामीले चुनावका बेला बिभिन्न ठाउँमा बिभिन्न बाचाहरु गरेका थियौ । यी सबै बाचा पुरा गर्न गाह्रो छ । त्यसको कारण पैसाको अभाव हो ।’ उनले अत्तरिया चोकको विकास गर्न सके समग्र नगरको नाम अगाडी बढ्ने भएपनि सेना र सशस्त्र प्रहरीका कारण यो काम पुरा हुन नसकेको बताए । ‘हामी सुदूरपश्चिम प्रदेशको मुख्य द्धारमा रहेका छौ ।

हामीसंग एक मात्रै चोक छ । यो चोकलाई सुधार गर्न सक्यौ भने पनि नगरको नाम अगाडी बढ्न सक्छ’ उनले भने ‘विडम्बना यो क्षेत्र आर्मी, सशस्त्रको भोगाधिकार भित्र छ । हामी चाहेर पनि त्यसको विकास गर्न सकिहरेका छैनौ ।’

उनले नगरपालिकाको पर्यटकिय विकासका लागि गोदावरी धामको विकास आवश्यक भएपनि त्यसका लागि नगरको बजेटले सम्भव नभएको बताए । ‘गोदावरीलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सक्ने अवस्था छ । तर, त्यो नगरको बजेटले भ्याउदैन । माथिबाट माग गर्दै जादा हामीलाई डिपिआरको आवश्यकता पर्छ’ उनले भने ‘यसअघि पनि डिपिआर बनेको भनिएको थियो । तर, ति अहिले भेटिएका छैनन् । बसपार्कको अधुरो डिपिआर मात्रै भेटिएको छ ।’

उनले नगरका जनप्रतिनिधिले पनि बजेट नपाएको गुनासो गर्नु दुःखद भएको बताए । उनले भने ‘समग्रमा हाम्रो नगरमा समस्या नै समस्या छन । जनताले बिभिन्न माग गर्नु स्वभाविक हो । तर जनप्रतिनिधिले सबै कुरा थाहा पाउँदा पाउँदै पनि बजेट दिएन, काखापाखा भयो भन्नु दुःखको कुरा हो ।’

उनले यस क्षेत्रमा कृषिको धेरै सम्भावना रहेकाले त्यसको विकासका लाग आफू लागिपरेको बताए । ‘कृषिबाट वेरोजगारीको समस्या सामाधान गर्न सकिन्छ । अहिले मैले व्यक्तिगत प्रयासमा कृषिमा ६० लाख बजेट केन्द्रबाट ल्याउन सफल भएका छौ’ उनले भने ‘हामी हिजोका अवस्थामा नगरपालिका रहनु हुदैन केही परिवर्तन हुनपर्छ भन्ने सोचका साथ लागिरहेका छौ । हामी कुन राजनीतिक दलबाट आयौ भन्ने कुरा सकियो अव हामी सबै संगै अगाडी बढ्न आवश्यक छ ।’

उनले नगरको छाडा चौपायाको समस्या सामाधानका लागि ऐन बनाएर काम अगाडी बढाएको बताए । ‘छाडा चौपायाको समस्या सामाधानका लागि २०७४ देखि ७८ सम्म करोडौ रुपैयाँ खर्च भएको देखिएको छ । तर, समस्या जस्ताको त्यस्तै छ’ उनले भने ‘अहिले अलि समय लागेपनि यसलाई ऐन नै बनाएर समस्या सामाधान गर्न तर्फ लागेका छौ ।’

४ वटा नयाँ ऐन पेश
नवौं नगरसभामा ४ वटा नयाँ ऐन पेश भएको छ । नगरसभामा ४ वटा नयाँ संगै २ वटा पुराना ऐन पनि संसोधनका लागि पेश भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले ४ वटा नयाँ र २ वटा पुराना ऐनमा संसोधनका लागि नगरसभामा कार्यसुची पेश गरेका छन् ।

सभामा बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९, तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन २०७९, फोहरमैला व्यवस्थापन ऐन २०७९ र गोदावरी नगरपालिकाको औद्योगिक व्यवसाय ऐन २०७९ पेश गरिएका छन् ।
उक्त ऐनहरु नगरपालिका कार्यपालिका बैठकबाट पारित गरी नगरसभामा पेश गरिएका हुन् ।
ऐन माथि आजैदेखि छलफल सुरु भएको छ । ऐनमाथिको छलफल लम्बिएमा माघ २० गते सम्म समय थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।

Bhancha ghar0

त्यस्तै नगरसभामा गोदावरी नगरपालिकाको नगर शिक्षा ऐन २०५७ मा दोस्रो संसोधन २०७९ र आर्थिक ऐन २०७९ मा व्यवसाय कर थप गर्नुपर्ने विषय पनि पेश गरिएको छ । यसअघि नगरसभाको उद्घाटन सत्रमा बोल्ने केही बक्ताहरुले नगरसभाको ऐनमा छलफल गर्न प्रयाप्त समय दिनुपर्ने माग गरेका थिए । अहिले ऐन माथिको छलफलका लागि बन्द्र सत्र जारी रहेको छ । नगरसभा अत्तरियाको सुविधा होटलमा संचालन भइरहेको छ ।

ड्राइभर फेर्नेदेखि शिक्षक, कर्मचारी व्यवस्थापनको मुद्धा

नगरसभामा नगरसभा सदस्यहरुले नगरका बिभिन्न समस्याहरुका बारेमा आफ्ना धारणा राखेका छन् । नगरसभा सदस्यको हैसियतमा बोलेका ७ वडा सदस्य, १ कार्यपालिका सदस्य र ४ वडाअध्यक्षले वडा र नगरका समस्याका बारेमा सभामा आफ्ना धारणा राखेका थिए ।

३ मिनेट समय दिएर बोलेका नगरसभा सदस्यहरुले नगर शिक्षकका समस्या सामाधान हुनुपर्ने, सुशासन कायम गर्नका लागि कर्मचारीले भूमिका खेल्नुपर्ने, सबै वडामा समान विकास गर्नुपर्ने, अटेरी ड्राइभर हटाउनु पर्ने लगायतका माग नगरसभाको अध्यक्षता गरिरहेका नगरप्रमुख बिरेन्द्र भट्ट समक्ष राखेका थिए ।

गोदावरी नगरपालिका – १२ का वडा अध्यक्ष भीम खड्काले नगरसभा नगरको पाल्र्यामेन्ट भएकाले यहाँ कुनै पनि ऐन नियम बनाउँदा गम्भिर छलफल हुन आवश्यक रहेको बताए । उनले समग्र नगरको विकासका लागि नगरका गौरवका आयोजना बनाउन आवश्यक रहेको बताए ।
‘विगतकै निरन्तरतालाई मात्रै अगाडी बढाउनु भन्दा नयाँ योजना ल्याउन आवस्यक छ’ उनले भने ‘१२ वटै वडालाई समेट्ने गौरवका योजना बनाउन आवश्यक छ ।’

उनले नगरपालिकालाई कृषिको हव बनाउन आवश्यक रहेको बताए । नगर शिक्षकका समस्या सामाधान गर्न आवश्यक रहेको बताउँदै उनले नगरबाट सुशासन कायम गर्नका लागि कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताए । वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) ले नगरमा भएका अटोरिक्साको नियमन संगै उनीहरुका समस्यालाई पनि ध्यानमा राखेर अगाडी बढ्न आवश्यक रहेको बताए । उनले नगरको विकासका लागि यस क्षेत्रमा संचालित उद्योगमा कर सुन्य नीति ल्याउन आवश्यक रहेको बताए ।

उनले स्वास्थका कर्मचारीको सम्मान गरिनुपर्ने बताउँदै शिक्षामा राजनीति गर्नेलाई लात हान्न आवश्यक रहेको धारणा राखे । उनले जनप्रतिनिधिकै भनेको नमान्ने मालाखेती अस्पतालका एम्बुलेन्स चालक (ड्राइभर) लाई तत्काल हटाउर्ने बताए । वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थीले नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । उनले आफ्नो वडामा अझै पनि बिजुलीको समस्या रहेकाले त्यसको सामाधानका लागि नगरको पहल आवश्यक रहेको बताए ।

नगरमा कित्ताकाटको काम रोकिदा राजश्व गुम्दै गएकाले यो समस्यालाई समाधान गर्न पनि नगरपालिकाले आवश्यक कदम चाल्नुपर्नेमा उनको जोड थियो । वडा नम्बर ५ का वडाध्यक्ष शुद्धिराम चौधरीले नयाँ ऐन बनाउने मात्रै नभएर पुराना बनेका ऐनको कार्यान्वयन र समिक्ष गर्न आवश्यक रहेको बताए । उनले विकास निर्माणका काम गर्दा सबै वडालाई समान रुपमा हेर्न आवश्यक रहेको बताए ।

कार्यपालिका सदस्य डम्मरी साहुले कार्यपालिकाको बन्द सत्रका क्रममा वडाहरुमा भएका समस्या सामाधानका उपायका बारेमा छलफल हुने बताईन् । वडा ११ का वडा सदस्य कुमार बडैलाले सबै वडामा फोहर मैला व्यवस्थापनका लागि काम गरिनुपर्ने बताए । उनले सबै वडामा सडक बत्तीको पनि व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

वडा ९ का वडा सदस्य उद्ध्भ भट्टराईले आठौं नगरसभाको समिक्षा हुनपर्ने माग गरे । उनले नगर शिक्षकका बारेमा आठौं नगरसभामा गरिएको निणय किन कार्यान्वयन गरिएनन् भन्दै प्रश्न गरे । वडा नम्बर ८ का वडा सदस्य हरि राम चौधरी ऐन राम्रो संग अध्ययन गरेर मात्रै पास गरिनु पर्ने बताए । वडा नम्बर ७ का वडा सदस्य चेत बहादुर ऐरले भत्केको बाटो निर्माणमा नगरको ध्यान नपुगेको गुनासो पोखे ।

वडा नम्बर २ का वडा सदस्य डबल साउदले वडामा डुबानको समस्या सामाधान गर्न नगरको ध्यान जान आवश्यक रहेको बताए। वडा ४ का वडा सदस्य शेर ब घर्तिमगरले गोदावरी धाममा हुने कुम्भ मेला नगरपालिकाले नै आयोजना गर्नुपर्ने माग गरे । वडा नम्बर १ का वडा सदस्य गम्भीर साउद र वडा नम्बर ६ का वडा सदस्य दिपक कठायतले पनि आ– आफ्ना वडामा भएका समस्याका बारेमा धारणा राखेका थिए ।

नगरसभाको उद्घाटन सत्रमा आफ्ना धारणा राख्दै नगर उपप्रमुख सारदा रोकायाले नगरले बनाएका योजनाका फाइल खोज्दा नभेटिने समस्या भएको बताइन् । उनले कर्मचारीहरुलाई योजनाका फाइल जनताले खोजेको समयमा भेटिने गरी राखिनुपर्ने बताइन् ।

Leave A Reply

Your email address will not be published.